व्यवस्थापिका–संसदमा आज (मंगलबार) मुलुकको ४० औं प्रधानमन्त्री चयनका लागि निर्वाचन हुँदैछ ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएसँगै प्रधानमन्त्री निर्वाचन हुन लागेको हो ।
चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने निर्णयको विरोधमा एमालेले संसद चल्न नदिने बताएपछि आइतबार प्रधानमन्त्री निर्वाचन हुन सकेको थिएन । सभामुख ओनसरी घर्तीमगरको पहलमा सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दल बैठकमा एमाले संसद चल्न दिन सहमत भएपछि प्रधानमन्त्री निर्वाचनको वातावरण बनेको हो । अपराह्न १ बजे बस्ने पहिलो संसद बैठकमा प्रमुख तीन दलका शीर्ष नेता (शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड) ले सम्बोधन गर्नेछन् ।
त्यसपछि केही समय स्थगित भएर दोश्रो पटक बस्ने बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुनेछ । प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवाको मात्र एकल उम्मेदवारी परेको छ । देउवालाई माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा लगायत दलको समर्थन छ । देउवा करिब दुई तिहाई सदस्यको समर्थनसहित प्रधानमन्त्री निर्वाचित हुने सम्भावना देखिएको छ ।
देउवा चौथोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्न लागेका हुन् । डडेल्धुरामा जन्मिएका ६९ वर्षीय देउवा पहिलोपटक ०५२ मंसिरमा प्रधानमन्त्री बनेका थिए । पछिल्लोपटक उनी २०५९ मा प्रधानमन्त्री भए । तर, तत्कालिन राजा ज्ञानेन्द्र शाहले अक्षम घोषणा गरेर बर्खास्त गरेका थिए । त्यसयता पटकपटक जमर्को गरे पनि उनी प्रधानमन्त्री बन्न सफल भएका थिएनन् ।