‘म दाबाका साथ भन्छु हाम्रो पार्टीले अरु पार्टीभन्दा धेरै राम्रो परिणाम ल्याउँछ ’:- फोरम नेपाल अध्यक्ष यादव

‘म दाबाका साथ भन्छु हाम्रो पार्टीले अरु पार्टीभन्दा धेरै राम्रो परिणाम ल्याउँछ ’:- फोरम नेपाल अध्यक्ष  यादव
राजनीति

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनको देशव्यापी रुपमा उत्साह छाएकोले जुनसुकै पार्टीले बहिष्कार गरेपनि चुनाव नरोकिने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले भने, ‘अब चुनाव हुन्छ, हुन्छ कोही पार्टीले चुनावमा जान्न भन्दापनि अब चुनाव रोकिँदैन्, उपेन्द्र यादवको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, महन्थ ठाकुरको पार्टी चुनावमा नजाँदापनि चुनाव हुन्छ ।’
यादवले आफ्नो पार्टीले देशव्यापी रुपमा चुनावी तयारी गरिसकेको समेत जानकारी दिए । उनले भने,‘हाम्रो पार्टीले दोस्रो चरणको निर्वाचनमा सबै ठाउँमा उम्मेद्धवारी दिन्छ, यसमा कुनै शंका छैन् ।’ उनले जनताबाट आफ्नो पार्टीको पक्षमा देशव्यापी रुपमा उत्साह र समर्थन आईरहेको समेत जिकिर गरे ।
अध्यक्ष यादवले चुनावी तालमेलको लागि आफ्नो पार्टी खुल्ला रहेको समेत जानकारी दिए ।

उनले भने,‘हामी चुनावी तालमेलको लागि सबैसँग खुल्ला छौं, राजपा नेपाललाई पनि तालमेलको लागि अपिल गरिरहेका छौं, हामी सँगै लड्नको लागि तयार छौं ।’ उनले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा लर्को लागेर मतदान गर्न आउने मधेशी नेताहरु स्थानीय तहको निर्वाचनमा उठेका मधेशी नेताहरुलाई भोट गर्न किन नहुने भन्दै प्रश्न समेत तेर्साए ।
उनले भने, ‘प्रधानमन्त्रीको उम्मेद्धवार गैर–मधेशी हुँदापनि उहाँहरुले भोट त हाल्नुभयो नि, अब तराईमा हुने चुनावमा मधेशी नै उम्मेद्धवार उठ्ने हुन नी ।’ उनले अरु पार्टीले भन्दा आफ्नो पार्टीले चुनावमा धेरै राम्रो परिणाम ल्याउने समेत दाबी गरे । यादवले भने, ‘म दाबाका साथ भन्छु हाम्रो पार्टीले अरु पार्टीभन्दा धेरै राम्रो परिणाम ल्याउँछ ।’

दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित भए जनतामा अति नै उत्साह छाउने उनको विश्वास थियो । उनले भने, ‘चुनाव अघि नै संशोधन प्रस्ताव पारित भए जनता रेनकोट ओढेर भएपनि मतदान गर्न आउँछन्, जनताले यतिवेला निर्वाचन र समृद्धि खोजेका छन् ।’उनले जनताले खोजेको कुरा राज्यले समयमै पूरा गरिदिनुपर्ने बताए ।

उनले आफ्नो पार्टीलाई अझैपनि संशोधन प्रस्ताव पारित नभए निर्वाचन जानु हुन्छ कि हुँदैन भनेर प्रश्न गरिने गरेको बताउँदै भने, ‘हामी त निर्वाचनमा सहभागी भैसक्यौ नि, अब पनि यसबारेमा प्रश्न गर्ने हो र ? ।’ उनले आफ्नो पार्टीको विरुद्धमा चारैतिरबाट युद्ध छेडिएको समेत गुनासो पोखे । यादवले भने,‘चुनावमा नजाँदा किन गएन भनेर प्रश्न गर्छन, अनि चुनावमा भाग लियो भने किन गयो भनेर प्रचारवाजी र विरोध हुन्छ, यस्तो किन भैरहेको छ मैले बुझ्न सकेको छैन् ।’

Post Comment