प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाउनुपर्ने बताएका छन् ।
संसदमा शुक्रबार आफूलाई शुभकामना तथा बधाइ आएपछि धन्यावाद ज्ञापन गर्दै देउवाले भने, ‘मधेसी जनताको माग संविधान संशोधन गर्नुपर्ने भन्ने छ । संविधानलाई सर्वस्वीकार्यता बनाउनु छ । संशोधन भएन भने मधेस केन्द्रित दलका नेताहरू चुनावमा भाग लिन्न भन्नु भएको छ ।’ उनले मधेसी जनताको भावना अनुसार संविधान संशोधन गर्नुपर्ने बताए ।
देउवाले भने, ‘चुनाव अगाडि संशोधन गर्ने अवस्था देखिएको छैन । असार १४ गतेको चुनावमा भाग लिएर निर्वाचनलाई सफल बनाउन अपील गर्छु ।’
प्रधानमन्त्री देउवाले स्थानीय तहको दोस्रो चरणको चुनाव सकिनेवित्तिकै संविधान संशोधन गरिने बताए । उनलेभने, ‘प्रतिपक्षले संशोधनमा सहयोग गर्छु भनेको छ । संशोधन विधेयकलाई अहिले पारित गराउन सक्ने अवस्था छैन । फेल गराउन पनि सकिँदैन ।’
मतपत्र च्यात्ने कुरा भरतपुरको पहिलो घटना नरहेको बताएका प्रधानमनत्री देउवाले भने, ‘यो विषय अदालतमा पुगेको छ । मत च्यात्ने कुरा कसैले पनि ठीक भनेको छैन । तर, त्यसलाई पहिलो घटना भन्न सकिँदैन ।’
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई विश्वासमा लिएर आफू अगाडि बढ्ने देउवाले बताए । ‘बहुदलीय प्रजातन्त्रमा प्रतिपक्ष छायाँ सरकार हो । छायाँ सरकारलाई बेवास्ता गर्न मिल्दैन’, उनले भने ।
प्रधानमन्त्री देउवाले तीन वटा निर्वाचन तोकिएको समयभित्र गर्नुपर्ने अवस्था रहेको पनि बताएका छन् । उनले आफूले तोकिएको जिम्मेवारी गर्न तयार रहेको बताए ।
मन्त्रिपरिषद समावेशी नभएको विषयमा देउवाले भने, ‘म समावेशिताको पक्षधर नेता हुँ । अब विस्तार हुने बेला सबैलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्छु ।’
यसैबीच, संसदको बैठक जेठ २८ गते १ बजेसम्मका लागि स्थगित भएको छ ।