उपेन्द्र माथि तराईमा आक्रमण गर्ने राजेन्द्रको योजनाको खुलासा

उपेन्द्र माथि तराईमा आक्रमण गर्ने राजेन्द्रको योजनाको खुलासा
जनसरोकार

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी कार्यक्रम बिथोल्न राष्ट्रिय जनता पार्टीले गोप्य तयारी गरेको खुलासा भएको छ ।
राजपा कार्यकर्ताहरुले सके यादवमाथि आक्रमण गर्ने, नसके चुनावी सभा बिथोल्ने तयारीमा जुटेका हुन् । सर्लाही क्षेत्र नं ५ र ६ को सिमानामा पर्ने मधुवनगोठ बजारमा फोरम नेपालले आइतबार अपराह्न बृहत् पार्टी प्रवेश एवं चुनावी सभा गर्दैछ । कार्यक्रमका प्रमुख अतिथि रहेका फोरम अध्यक्ष उपेन्द्र यादव नवप्रवेशी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन एवं चुनावी सभाका लागि आइतबार बिहानै सर्लाही प्रस्थान गरिसकेका छन् ।
सर्लाहीमा राजपासहित नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेता कार्यकर्ताकोसमूह फोरम प्रवेश गर्दैछ ।
कार्यक्रम स्थल जाने सडक खण्डमा पहिचान नखुलेका केही व्यक्तिहरुले बिहानैदेखि टायर बालेर विरोध जनाएका छन् । स्रोतका अनुसार राजपा मण्डलका अध्यक्ष राजेन्द्र महतोको प्रत्यक्ष निर्देशनमा सर्लाहीमा यादवको कार्यक्रम बिथोल्ने रणनीति बनेको हो ।
‘महतोको निर्देशनमा राजपा सर्लाहीका नेताहरु जंगीलाल यादव, केदार नन्दन चौधरी, शिवपुजन यादव लगायतले यादवको कार्यक्रम बिथोल्न कार्यकर्तालाई खटाइसकेका छन्’– स्रोतले भन्यो,– ‘यादवजीको कार्यक्रम बिथोल्ने तयारी दुई दिनअघि नै बनिसकेको छ ।’ राजपा मण्डलका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृहजिल्ला सर्लाहीमा फोरम नेपालका अध्यक्ष यादवमाथि आक्रमण गर्नेदेखि कार्यक्रम बिथोल्नसम्मको रणनीति बनेपछि जिल्लामा केही तनाब देखिएको छ । तर, कुनै अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भने,– ‘यादवजीलाई अवरोध गर्दै उहाँको कार्यक्रम बिथोल्ने तयारी भइरहेको जानकारी हामीले पनि पाएका छौं । त्यही अनुसार सुरक्षा व्यवस्था पनि तयारी अवस्थामा छ ।’ स्थिति पूर्णरुपमा नियन्त्रणमा र सुरक्षा सतर्कताका लागि सशस्त्र प्रहरीको थप सुरक्षा बल कार्यक्रम स्थलमा खटाइसकिएको प्रजिअ कँडेलले जानकारी दिए ।
फोरम नेपाल सर्लाहीका अध्यक्ष अशोक यादवले केही उत्तेजित समूहबाहेक आम मधेशी जनता उपेन्द्र यादवको स्वागतका लागि तयार भएर बसेको बताए ।
राजपाका महामन्त्री एवं सर्लाहीका क्षेत्र नं. ५ का सांसद जंगी लाल यादवले भने फोरम नेपालको चुनावी सभा बिथोल्ने आफूहरुको कुनै तयारी नभएको प्रतिक्रिया दिएका छन् । ‘उपेन्द्रजीको कार्यक्रम बिथोल्ने हाम्रो कुनै योजना छैन । यो सब निराधार हल्ला मात्रै हो ।’

Post Comment