सरकारले आफ्ना माग पूरा नगरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले निर्वाचन विथोल्न अनिश्चितकालीन आमहड्तालको आह्वान गरेको छ ।
काठमाडौंको बिजुलीबजारमा आइतबार बसेको गठबन्धनको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संयोजक ठाकुरले असार १० गतेदेखि अनिश्चितकालीन आमहड्तालको घोषणा गरेका हुन् ।
अध्यक्ष ठाकुरले भने, ‘हाम्रा माग पूरा हुने अवस्था देखिएन । मन्त्रिपरिषदबाट भएका निर्णय पनि कार्यान्वयन भएन । यस्तो अवस्थामा चुनावमा जाने कुरै रहेन । आन्दोलन घोषणा गरेर सडकमा जानुभन्दा अर्को विकल्प रहेन ।’
राजपा नेपालको अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयनमा धोका दिएको आरोप लगाए । ‘हामीसँग भएको सहमति कार्यान्वयन नहुँदासम्म निर्वाचनमा जाने कुरा हुँदैन’, उनले भने, ‘आवश्यक प-यो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता गर्न बाध्य हुने छौँ ।’
कार्यक्रम अनुसार गठबन्धनले जेठ २९ गते तराईका जिल्लाहरूमा मसाल जुलुस प्रदर्शनको कार्यक्रम राखेको छ । जेठ ३० र ३१ तथा असार १ र २ गते मधेस, थरुहट, र लिम्बुवान बन्द तथा आमहड्तालको घोषणा गरिएको छ ।
लाठी जुलुस प्रदर्शनका साथै संघीय गठबन्धनले असार १० गतेदेखि अनिश्चितकालीन आमहड्तालको घोषणा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।