नेपाली नागरिकमाथि हुने दुव्र्यवहार रोक्छु :-उत्तर प्रदेश मुख्यमन्त्री योगी

नेपाली नागरिकमाथि हुने दुव्र्यवहार रोक्छु :-उत्तर प्रदेश मुख्यमन्त्री योगी
अन्तर्राष्ट्रिय समाचार

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सीमा क्षेत्रमा नेपाली नागरिकमाथि हुने दुव्र्यवहार रोक्ने बताएका छन् । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग लखनउमा बुधबार भएको भेटमा उनले आफ्नो कार्यकालमा नेपालीलाई सकेको सहयोग गर्नेसमेत आश्वासन दिएका छन् ।

‘मैले मुख्यमन्त्रीसँगको भेटमा नेपालीको सरोकार प्रस्तुत गरेँ, वनारसको ललिताघाटसहित नेपालीले पहिले बनाएका मठमन्दिरको संरक्षणमा जोड दिएँ,’ उपाध्यायले लखनउबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने । उनका अनुसार योगीले यी सबै सरोकार सम्बोधन गर्ने आश्वासन दिएका छन् । भेटमा नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरि ओडारी पनि सहभागी थिए । सो अवसरमा संस्कृति, पर्यटन, पूर्वाधार, सीमा प्रशासन, सम्पर्क सञ्जाल, सीमावर्ती बाँध, मठमन्दिर संरक्षणलगायत विषयमा छलफल भएको थियो ।

‘काठमाडौं–पोखराबाट वाराणसी, लखनउ, गोरखपुरमा सीधा हवाई सम्पर्क विस्तार हुनुपर्ने, दुवैतिरका मुख्य सांस्कृतिक स्थलहरूमा धार्मिक सांस्कृतिक पर्यटनका लागि सहकार्य गर्नुपर्ने विषयमा पनि छलफल भयो,’ नेपाली दूतावासका प्रवक्तासमेत रहेका ओडारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उपाध्यायले वाराणसीको ललिताघाट परिसरमा गैरकानुनी संरचना निर्माण भएको विषयमा चासो राखेका थिए । उत्तर प्रदेश सरकारले हस्तक्षेप गरेर अतिक्रमण बन्द गर्नुपर्नेमा राजदूत उपाध्यायको जोड थियो । उक्त घाट दुई सय वर्षअघि नेपालले बनाएको थियो भने नेपालकै सम्पत्ति हो । मुख्यमन्त्री योगीले उक्त समस्या समाधान गर्ने आश्वासन दिएको ओडारीले जानकारी दिए । राजदूत उपाध्यायले मुख्यमन्त्री योगीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका छन्

Post Comment