कांग्रेस नेता एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । निधिले काँग्रेसले निर्वाचनमा सम्पूर्ण शक्तिको प्रयोग गर्ने र जित्ने दाबी गरे । ‘कांग्रेस सम्पूर्ण तयारी र शक्ति लगाएर निर्वाचनमा होमिएको छ’, उनले भने, ‘एमालेले काँग्रेससँग प्रतिस्पर्धा गर्न सक्दैन ।’ पहिलो चरणमा जस्तो यसपटक बागी र विद्रोही उम्मेदवार नरहेकाले पनि काँग्रेस बलियो शक्तिका रुपमा आउने दाबी उनको छ ।
निधिले एमाले जहिले पनि मुलुकमा द्वन्द्व चर्काउने र काँग्रेस द्वन्द्व व्यवस्थापन गर्ने पार्टी भएको दाबी गरे । ‘काँग्रेस समस्या समाधान गर्ने र एमाले द्वन्द्व निम्त्याउने पार्टी हो’, शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले भने, ‘यो कुरा जनताले राम्रोसँग बुझिसकेका छन् ।’ उनले एमाले संविधान कार्यान्यवन हुन नदिने खेलमा लागेको आरोप पनि लगाए । काँग्रेसको विराटनगरका चुनावी कमाण्डरसमेत रहेका उनले विराटनगरका सबै स्थानीय तहमा काँग्रेसले जित्ने जिकिर गरे ।