संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी निर्वाचनमा सहभागी हुनेको कारण खुलाएका छन् ।
कपिलवस्तुको बहादुरगञ्जमा आइतबार आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष यादवले शक्ति संचयका लागि चुनावमा सहभागी भएको बताए ।
उनले चुनावमा सहभागी नहुँदा मधेसले संघर्षबाट प्रप्त गरेका उपलब्धीसमेत गुम्ने खतरा देखेपछि आफूहरु निर्वाचनमा होमिएको उनको भनाइ थियो । आफूहरु निर्वाचनमा नजाँदा स्थानीय तहमा काँग्रेस, एमाले, माओवादी र राप्रपाको बर्चश्व स्थापित हुने भएकाले त्यसलाई रोक्न निर्वाचनमा जानुपरेको प्रष्ट्याए । ‘स्थानीय तहमा कांग्रेस, एमाले, माओवादी र राप्रपाको बोलबाला हुने देखेपछि हामी निर्वाचनमा सहभागी भएका हौं’, उनले भने, ‘मधेसीको अधिकार रक्षाका लागि चुनावको विकल्प छैन ।’
यादवले राजनीतिक उपलब्धि संस्थागत गर्नका लागि बुलेटको विकल्पमा ब्यालेट रोजेको प्रष्टीकरण दिए । उनले शान्तिपूर्ण मधेस आन्दोलनमाथि काँग्रेस, एमाले, माओवादी र राप्रपाले दमन गरेको र मानिसहरुको हत्या गरेकाले निर्वाचनमा ती दललाई परास्त गर्न मतदातालाई अपिल गरे ।