प्यूठान, २९ पुस । गङ्गापरस्पुर–५ लोखरपुरकी सुवासी चौधरीको आमा दोपट्टा उद्योगमा काम गर्नुहुन्छ । यसरी काम गर्न थालेको दुई वर्ष जति भयो । उद्योगमा कपडाको दोपट्टा, स्कार्फ, झोलालगायतका सामग्री बनाउने काम हुन्छ । यहाँ बनाइएको स्कार्फ, दोपट्टा, झोलालगायतका सामग्री क्यानाडामा बिक्री वितरण भइरहेको छ । उद्योगमा अहिले आठजना आमाले काम गर्दै आउनुभएको छ । दैनिक रु ३५० ज्याला पाउने गरी ती आमाहरुले उद्योगमा रोजगारीसमेत पाउनुभएको छ । “हामीले यहाँ उद्योगमा सिलाइ कटाइको काम गर्छौं, दैनिक रु ३५० पाउँछौ, त्यो पैसाले घर खर्च, छोराछोरीका पढाइ खर्च चलिरहेको छ,” सुवासीले भन्नुभयो– “सहकारी संस्था पनि खोलेका छौँ, त्यसमा पनि बचत गर्छौं ।”
गङ्गापरस्पुर र गोवरडिहा गाविसका १८ आमा समूहको सहभागितामा उनीहरुले बचत तथा ऋण सहकारी संस्था गठन गरेर मासिक रु ५० बचत गर्दै आएका छन् । “तरकारी बिक्रीबाट आएको रकमलाई बचाएर सहकारी संस्थामा बचत गर्दै आएका छौँ,” फूलमती चौधरीले भन्नुभयो– “अब हामीलाई सीपको आवश्यकता छ, मजदूरी जान्छौँ, तरकारीखेती पनि गर्छौं ।” पूर्व र सम्भावित कमलहरी बालिकाका आमालाई रोजगारी दिन क्यानेडेली नागरिकको ९८ लाख ४७ हजारको सहयोगमा सौर्य ऊर्जा जडित भवन निर्माण गरिएको हो ।
उद्योगमा तयार गरिएको कपडाको सामग्री क्यानाडामा हुने पर्व तथा उत्सवमा बिक्री वितरण भइरहेको छ । दुई वर्षको अवधिमा रु १८ लाख बराबरको कपडा निर्यात गरिएको छ । “यहाँ उत्पादित सामग्री क्यानाडामा बिक्री वितरण भइरहेको छ, त्यहाँका नागरिकको इच्छाअनुसारका सामग्री यहाँ बनाइन्छ,” क्रियटिङ पोसिबिलिटीज नेपाल(सिपी)का कार्यक्रम निर्देशक दिनेश सापकोटाले भन्नुभयो – “समूहलाई थप मजबुत बनाइराखेका छौँ, पछि यी समूहले नै आँफै विदेशमा सम्पर्क गरेर सामान बिक्री वितरण गर्नेछन् ।” सिपी संस्थाले कच्चापदार्थ खरिद गर्दैआएको छ । सामान बिक्रीबाट सङ्कलन भएको रकम अनाथ तथा गरिब बालबालिकाको शिक्षा दीक्षामा लगाइँदै आएको संस्थाले बताएको छ । रासस