‘देउवा खरिद बिक्रीमा नामुद हुनुहुन्छ ,विगतमा के गर्नु भएको थियो,सबैलाई थाहा छ’:-एमाले महासचिव पोखरेल

‘देउवा खरिद बिक्रीमा नामुद हुनुहुन्छ ,विगतमा के गर्नु भएको थियो,सबैलाई थाहा छ’:-एमाले महासचिव पोखरेल
जनसरोकार

एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन विधेयक फेरि कुबेला चर्चामा ल्याएको बताउनु भएको छ ।

महासचिव पोखरेलले संविधान संशोधन विधेयक पारित हुन नदिने बताउनुभयो ।

‘निर्वाचन सकिएपछि मात्रै संशोधनमा नयाँ तरिकाले संशोधन गरौँला भनेका थियौँ’, उहाँले भन्नुभयो, ‘निर्वाचनको बीचमा आएर फेरि संशोधनको कुरा गरिएको छ । एमाले संशोधन विधेयक पारित गर्ने पक्षमा छैन ।’

‘शेरबहादुर देउवा खरिद बिक्रीमा नामुद हुनुहुन्छ । विगतमा के–के गर्नु भएको थियो, सबैलाई थाहा छ’, महासचिव पोखरेलले भन्नुभयो, ‘यस पटक पनि त्यो कुरा नदोहोरिएला भन्न सकिँदैन ।’

हिन्दी भाषा लादेर भोजपुरी, थारु, मैथली, अवधि लगायतका नेपाली भाषालाई विस्थापित गर्ने ठूलो षड्यन्त्र भएको महासचिव पोखरेलले आरोप लगाउनुभयो । ‘मधेस केन्द्रित दलका केही नेताहरू हिन्दी भाषालाई जबरजस्ती थोपरेर भोजपुरी, थारु, मैथली, अवधि जस्ता स्थानीय नेपाली भाषाहरूलाई विस्थापित गर्न लागेका छन्’, उहाँले भन्नुभयो, ‘यस्ता कुरा एमालेलाई मान्य छैन ।’

उहाँले विदेशी नागरिकलाई तत्काल नागरिकता दिने विषयमा पनि एमाले सकारात्मक नरहेको बताउनुभयो । ‘भारतमा हाम्रा चेलीहरूलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिइन्छ । नेपालमा भारतीय चेलीहरूले २४ घण्टाभित्र नागरिकता पाउँछन्’, उहाँले भन्नुभयो, ‘भारतीय नागरिकहरूलाई उच्च संवैधानिक पदमा जान दिनु हुँदैन । मन्त्री र अन्य पदमा त जाउन पाएकै छन् ।’

तराईका जिल्लामा पनि एमालेले बहुमत स्थानमा जितेको भन्दै महासचिव पोखरेलले भन्नुभयो, ‘एमालेलाई तराईमा कमजोर छ भनियो । तर, निर्वाचनले देखाइ दियो । एमाले तराईमा बलियो छ । हामीले प्रमाणित गरेका छौँ ।’

Post Comment