एकसातामा पांच महिला हिसांको घटना

एकसातामा पांच महिला हिसांको घटना
समाज

केही दिनयता मुलुकका विभिन्न भागमा महिला हिंसा र हत्याका घटना बढिरहेकाप्रति सभामुख ओनसरी घर्तीले संसद्को गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । संसद्को बिहीबारको बैठकमा सभामुखले त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।

दोषीमाथि कारबाहीको माग
संसद् बैठकको प्रारम्भमा विभिन्न दलका महिला सांसदले रुकुम, दैलेख, बाँके, खोटाङ र बाग्लुङमा १० दिनयता महिलाको हत्या एवं हिंसा भएकामा आपत्ति जनाए । कांग्रेस सांसद आरजु राणा देउवाले महिला हिंसा र हत्याका शृंखला बढिरहेकाप्रति दुःख व्यक्त गरिन् । ‘२५ असारदेखि आजसम्म देशका विभिन्न क्षेत्रमा महिला हिंसा र हत्याका डरलाग्दा घटना भइरहेका छन् । दोषीमाथि कारबाहीको माग गर्छु,’ उनले भनिन् ।

माओवादी केन्द्रकी सांसद रेखा शर्माले महिलामैत्री संविधान बने पनि व्यवहारमा महिला प्रताडित रहेको बताइन् । उनले एक सातायता महिलाको हत्या र हिंसा भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

राप्रपा सांसद कुन्ती शाहीले नयाँ संविधानमा महिला हकहितका कुरा उल्लेख गरिए पनि धेरै महिला हत्या र हिंसाका सिकार भइरहेको बताइन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी रुक्मिणी चौधरीले रुकुममा वडा सदस्यमा निर्वाचित दलित महिला सदस्य बयानसरी कामीले सपथ नलिँदै श्रीमान्ले हत्या गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।

‘महिला अघि बढेको देख्न नसक्ने समाजमा आफ्नै श्रीमान्बाट मृत्युवरण गर्नुपरेको छ । घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गरियोस्,’ उनले भनिन् । संसद्मा विशेष समय लिएर बोल्ने अन्य महिला सांसदले समग्र महिला आन्दोलनलाई यी घटनाले मर्माहत बनाएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

महिला हिंसा र हत्याका पछिल्ला शृंखला
१. सोमबार कोहलपुर–४ बेलनपुरका अहमद अफतान बेरुवाले श्रीमती फुलटन बेरुवाको घाँटी रेटेर हत्या गरे । करिब ६ महिनाकी छोरीलाई मृतक आमाकै छेउमा छोडेर उनी श्रीमतीको टाउको लिएर प्रहरीसमक्ष आत्मसमर्पण गर्न पुगे ।

२. आइतबार दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ मा छाउगोठमा सुतेकी २२ वर्षीया शान्ता शाहीको सर्पले डसेर मृत्यु भयो ।

३. रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–६ बाट दलित महिला सदस्यमा निर्वाचित बयानसरी कामीको तीन दिनअघि हत्या भयो । हत्याको आरोपमा श्रीमान् तेजबहादुर पक्राउ परे ।

४. बाग्लुङको बडिगाड गाउँपालिका–२ खारापानीमा चार दिनअघि बेवारिसे अवस्थामा एक महिलाको शव भेटियो ।

५. चार दिनअघि खोटाङमा श्रीमान्को कुटाइबाट श्रीमती सख्त घाइते ।

Post Comment