कांग्रेस र माओवादी केन्द्र लम्पसारवादी पार्टी भएको एमाले सचिव ज्ञवालीको आरोप

कांग्रेस र माओवादी केन्द्र लम्पसारवादी पार्टी भएको  एमाले सचिव ज्ञवालीको आरोप
राजनीति

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र माओवादी केन्द्र लम्पसारवादी पार्टी भएको आरोप लगाएका छन् । विहीबार नेकपा एमाले दार्चुला प्रचार विभाग र प्रेस चौतारी नेपाल दार्चुलाको संयुक्त आयोजनामा भएको समसामयिक विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो आरोप लगाएका हुन् ।

देशमा पछिल्लो समय हुदै आएको राजनीतिक घटना परिघटनालाई हेर्दा कांग्रेस र माओवादी मधेशी दलहरुको काँध टेकेर भारतसित लम्पसार हुँदै आएको र मधेशी दलहरुलाई देखाएर उनीहरु मुलुकलाई विभाजन गर्ने खेलमा लागेको सचिव ज्ञवालीको आरोप छ । ‘स्थानीय तहको निर्वाचनमा लम्पसारवाद र राष्ट्रिय स्वाभिमान बीच प्रतिस्पर्धा भएको हो,’ उनले भने, ‘मुलुकको हित चाहने नागरिकले राष्ट्रिय स्वाभिमानका पक्ष रोजेको हुनाले एमाले मुलुकको पहिलो पार्टी भएको छ ।’

प्रतिकुल अवस्थामा पनि एमाले एक्लै चुनाव लडेर चुनाव भएका सबै प्रदेशमा पहिलो स्थानमा आएको भन्दै जनताले देश बनाउने जिम्मेवारी पनि एमालेकै काधमा आएको हुनाले सबै नवनिर्वाचित पदाधिकारीहरुले चनाखो भएर अगाडी बढ्नुपर्ने उनले सुझाव दिए ।

सोही अवसरमा बोल्दै उनले २०७० को संविधानसभा चुनावमा मुलुकको पहिलो हुन पुगेको कांग्रेस एमालेसित एक्लै प्रतिस्पर्धा गर्न नसक्दा माओवादी केन्द्रको वैशाखी टिकेर चुनाव लड्न पुगेको आरोप लगाए । प्रचण्डलाई आफ्नो छोरीलाई जसरी पनि मेयर बनाउनुपर्ने हुँदा कांग्रेससित घाटी जोड्नुपर्ने र कांग्रेस एक्लै एमालेसित प्रतिस्पर्धा गर्न नसक्ने हुदा गठबन्धन गर्नु पुगेको उनको भनाई छ ।

सुरुदेखि एमाले एकै पटक निर्वाचन हुनुपर्छ भन्दै आएको भएपनि एमालेलाई सिध्याउनका लागी पटक–पटक सरकारले चुनावको मिति तोकेको आरोप लगाए । जहाँ एमाले कमजोर छ, त्यही ठाउमा पहिले चुनाव गराउने र हारेपछि त्यसको मनोप्रभावले अन्य ठाउँमा पनि एमालेलाई कमजोर बनाउन सकिन्छ भन्ने सरकारवादी दलहरुको बुझाई रहेको उनले बताए । तर, त्यस्तो निर्वाचन परिणामले नदेखाएको हुनाले अब सबै कार्यकर्ताले २ नम्बर प्रदेशको स्थानीय तहको चुनाव संगै प्रातीय र संसदीय चुनावको तयारी जुट्न निर्देशन उनले कार्यकर्तालाई दिए ।

स्थानीय तह निर्वाचनमा पराजय भएका ठाउको सुक्ष्म विश्लेषण गरी थप मेहनत गर्ने र परिणाम आफ्नो पक्षमा आएका स्थानीय तहमा कार्यकर्ताहरुको संरक्षणमा जोड दिन सबैलाई आग्रह गरे । एमालेलाई सिध्याउन धेरै राजनीतिक शक्तिहरु लागिपरेकाले चनाखो भएर आगामी निर्वाचनको तयारी लाग्नुपर्नेमा उनले जोड दिए ।

Post Comment