गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको अध्यक्षमा उम्मेदवार हुन गौरीराज जोशी योग्य रहेको पत्र संबद्ध निकायले जनाएको छ ।
एनआरएन अन्तर्राष्ट्रिय समितिको सचिवालय काठमाडौंले शनिबार एनआरएन अमेरिकाको निर्वाचन समितिलाई पत्र पठाउँदै जोशी अध्यक्षको उम्मेदवारका निम्ति योग्य रहेको उल्लेख गरेको छ । महासचिव बद्री केसीले प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मालाई संबोधन गर्दै पठाएको पत्रमा जोशीले डा. अम्बिका अधिकारी नेतृत्वको कार्यसमिति (सन् २००७–२००९) मा कार्यकारी सदस्य तथा सदस्यता व्यस्थापन संयोजक भएर काम गरेको उल्लेख छ ।
पत्रमा एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिका २१ जनवरी २००६ मा स्थापना भएको र त्यसपछि एनआरएन आइसिसीमा आवद्ध हुँदै आएको उल्लेख छ ।
यो पत्रका आधारमा जोशी अध्यक्षको उम्मेदवार हुन योग्य रहेको जनाईएको छ । जोशीको उम्मेदवारीको संबन्धमा आइसिसीका क्षेत्रीय संयोजक सोनाम लामाले पत्र पठाएर निर्वाचन समितिलाई दवाव दिएपछि त्यही पत्रका आधारमा समितिले जोशीको नाम उम्मेदवारको सूचिमा पारेको थिएन ।
जोशीको नाम उम्मेदवारको सूचिमा नपरेपछि अमेरिकाभरिबाट उनका शूभचिन्तकहरुले कडा प्रतिकृया दिइरहेका छन् । ‘अब म आफ्नो निर्वाचन कार्यक्रममा तयारीसाथ अघि बढ्दैछु,’ जोशीले भने ।