अमेरिकामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को अधिवेशन नजिकिँदै जाँदा आगामी अध्यक्षका लागि को उमेदवार हुने भन्ने विवाद बढेको छ । अमेरिकाको निर्वाचनमा आएको विवादले केन्द्रीय अध्यक्ष शेष घले र महासचिव बद्री केसीबीच पनि विवाद सुरु भएको छ । विवाद र पत्रमार्फत अध्यक्ष घले र महासचिव केसीबीच भइरहेको आरोप–प्रत्यारोपमा एनआरएन अमेरिकाले आमनेपाली समुदायको विश्वास गुमाउँदै लगेको छ ।
एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको आउने केही महिना भएपनि पुनः अध्यक्ष हुने चाहना, आईसीसीका लागि अमेरिका संयोजक सोनाम लामाको असक्षमता, एनआरएनएमा केही महिनापछि हुन लागेको नेतृत्वको निर्वाचनमा उमेदवार हुन चाहनेको दाउपेचले एनआरएन अमेरिका संकटमा परेको छ ।
एनआरएनए विधानको मर्मअनुसार कुनै देशको संगठनमा समस्या आए त्यही क्षेत्रको संयोजकलाई सल्टाउने जिम्मेवारी हुन्छ । तर, एनआरएन अमेरिकामा क्षेत्रीय संयोजक सोनामको भूमिका समस्या समाधान गर्ने भन्दा पनि बढाउने तर्फ केन्द्रित हुँदा केन्द्रमा पनि विवाद सुरु भएको हो । उनले यो विवादलाई अमेरिका भन्दा बाहिर केन्द्रमा पुर्याएका छन् । अध्यक्ष शेष घलेसँग निकट सम्बन्ध रहेका सोनामले यो विवादलाई अमेरिकाभित्रै मिलाउने पहल नै गरेनन् । एनआरएन अमेरिकामा करिब १५ हजार सदस्य छन् । यो विवादमा यी साधारण सदस्यलाई पूर्ण बेवास्ता गरिएको सोनाममाथि आरोप लागेको छ । कतिपय सोनामको अहिलेको भूमिकाप्रति रुष्ट छन् । सोनाममाथि एनआरएन अमेरिकामा आफूले जे गर्दा पनि हुन्छ भन्ने भ्रम परेको आरोप लाग्न थालेको छ ।
एनआरएन अमेरिकाको विवाद गौरी जोशी अध्यक्षमा उमेदवार हुन पाउने–नपाउने भन्नेमा केन्द्रित छ । करिब ६ महिनाअघि एनआरएन अमेरिकाको अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका गौरी अहिले बलियो उमेदवार हुन् । पाँच जनाले अध्यक्ष पदमा उमेदवारी दिएपनि गौरी र वर्तमान अध्यक्ष डा. केशव पौडेलबीच चर्को प्रतिस्पर्धा छ । अध्यक्ष घले सोनामसँग निकट रहेकाले विवाद बढ्दै गएको हो ।
पौडेल अध्यक्ष भई केही महिनापछि काठमाडौंमा हुने आईसीसीको साधारणसभामा जाने इच्छाले पनि यो विवाद आएको हो । पौडेललाई केन्द्रमा जाने चाहना छ तर, त्यहाँ जान नसके अमेरिकाको अध्यक्ष भइरहने इच्छा पनि छ । आफूलाई दुवैतिर सुरक्षित बनाउन खोज्दा एनआरएन अमेरिका विवादमा पर्नुको अर्को कारण हो । पौडेलले पटक पटक गौरीलाई वरिष्ठ उपाध्यक्षमा बस्न आग्रह गरेका थिए । उनको प्रस्ताव आफू केन्द्रमा गएपछि गौरीलाई कार्यवाहक दिने भन्ने थियो । तर, गौरीले मानेनन् ।
गौरीले बरु केन्द्रमा जान डा. पौडेललाई सहयोग गर्ने तर अहिले अध्यक्ष नछाड्ने अडान लिए । चुनाव आफ्नो पक्षमा पार्न पौडेलले सोनामलाई आफ्नो पक्षमा राख्न सके । सोनाममार्फत अध्यक्ष पौडेल गौरीलाई रोक्ने प्रयत्नमा लागे । यो विवादले पौडेलको कार्यसमितिलाई पनि असक्षम प्रमाणित गरेको छ । विवाद चर्किंदा पौडेललाई पनि हानी भइरहेको छ । नेतृत्व चयनको प्रकृयालाई सहज रुपमा अगाडि बढाउन नसक्नु पौडेल कार्यसमितिको असफलता हो । एनआरएन अमेरिका कति फितलो संस्था रहेछ भन्ने सन्देश अहिलेको विवादले दिइरहेको छ । यो पौडेलका लागि चुनौती हो ।
यो विवाद सल्टाउन एनआरएन अमेरिकाको निर्वाचन समिति पनि फितलो देखियो । निर्वाचन समितिको काम नै अस्तव्यस्त देखिएको छ । सुरुमा आफ्नै कार्यतालिका अनुसार निर्वाचन समितिले उमेदवारको पहिलो सूची निकाल्न सकेन । दुई दिन ढिलो गरेर निकालिएको सूची पनि भद्रभोल थियो । आजीवन सदस्य पनि छन् भन्ने निर्वाचन समितिले हेक्का नै नराखेको देखियो । उमेदवार दिनको कैयौंको नाम पहिलो सूचीमा थिएन । आजिवन सदस्यको पनि मतदाता सूचीमा नाम छैन भनेर उमेदवारको लिष्टमा नाम राखिएन । को उमेदवार बन्न पाउने, को नपाउने भन्ने विगतको नजिरलाई समेत निर्वाचन समितिले हेरेको देखिएन । निर्वाचन समितिले आफ्नो जिम्मेवारीलाई हल्का रुपमा लिँदा पनि समस्या बढेको छ ।
आफ्नो नेतृत्व छान्ने अधिकार मतदातालाई हुन्छ । बलियो हुँदै गयो, सहमतिमा आएन भन्दैमा उमेदवारी दिनबाटै रोक्ने प्रयास नै अहिलेको संकटको कारण हो । यही संकट केन्द्रमा आरोप प्रत्यारोपमा पुगेको हो ।
अध्यक्ष घले र महासचिव केसीले अमेरिकाको निर्वाचनका विषयमा लिएर एक आपसमा आरोप प्रत्यारोप लगाउँदै पत्र पठाएका छन् । यो निर्वाचनका सन्दर्भमा पत्र युद्ध नै सुरु भएको छ । दुई दिनअघि अध्यक्ष घलेले महासचिवले एनआरएन अमेरिकाको निर्वाचन समितिलाई पठाएको पत्रलाई नमान्न अर्को पत्र पठाएका थिए । घलेले महासचिवले व्यक्तिगत आधारमा पत्र लेखेको हुँदा यसलाई बेवास्ता गर्न भनेका थिए । घलेको पत्र आएको एक दिन पनि नबित्दै महासचिव बद्रीले पुनः पत्र पठाई अध्यक्ष घलेको पत्र पनि कुनै आधिकारिक नभएको भन्दै चुनौती दिएका छन् ।
गौरी उमेदवार बन्न पाउने नपाउने विवाद १० दिनयता पत्र युद्धमा परिणत भएको छ । गत जुलाई १७ मा एनआरएनए आईसीसीका अमेरिका संयोजक सोनाम लामाले निर्वाचन समितिलाई पत्र पठाएर विधानतः एक कार्यकाल काम गरेको हुनुपर्ने उल्लेख गरेका थिए । सोनाम लामाको पत्रको मुख्य आशय गौरीलाई उमेदवार हुनबाट रोक्नु थियो । यस्तै भयो, निर्वाचन समितिले उमेदवारको पहिलो सूचीमा गौरीको नाम राखेन ।
गौरीले प्रकृया र विद्यान अनुसार उमेदवारी दिँदा पनि पहिलो सूचीमा नाम नराखिएको भन्दै आईसीसी महासचिवलाई निवेदन लेखे । महासचिवले गौरी एक कार्यकाल कार्यसमितिमा रहेर काम गरेको पुष्टि गर्दै निर्वाचन समितिलाई पत्र पठाए । यसरी पत्र आएपछि पुनः अमेरिका संयोजक सोनामले शेष घलेलाई पत्र लेखेर महासचिवले क्षेत्राधिकार नाघेर काम गरेको आरोप लगाए । संयोजक सोनाम र उपसंयोजक एसी शेर्पाले संयुक्त रुपमा अध्यक्षलाई पठाएको पत्रमा गौरी जोशीको नामसमेत उल्लेख गरेर महासचिव माथि गम्भिर आरोपहरु लगाइएको थियो ।
सोनाम र एसीको पत्रपछि अध्यक्ष घलेले महासचिवको पत्र नमान्न अस्विकार गर्न पुनः पत्र पठाएका हुन् । यही पत्रलाई महासचिव बद्रीले चुनौती दिएका हुन् । महासचिव बद्री केसीले आफ्नो पछिल्लो पत्रमा लेखेका छन्, ‘मैले लेखेको पत्रका बारे कार्यकारी सचिवालयको आपतकालिन बैठकमा छलफल भएको छ । एक वक्तव्य निकाल्ने निर्णय भएको थियो र उक्त बैठकको मस्यौदा माथि छलफल हँुदै थियो । यसैबीच मलगायत अन्य कुनै पदाधिकारीलाई जानकारी नदिई अध्यक्षज्यूबाट २५ जुलाई २०१७ मा छुट्टै पत्र जारी गरिएको छ । यो पत्रका बारे कार्यकारी सचिवालयमा कुनै छलफल र निर्णय भएको होइन । त्यसैले अध्यक्षज्यूले लेखेको पत्र पनि उहाँको व्यक्तिगत हो । उहाँको पत्रलाई युएसएको निर्वाचन समितिले यसै रुपमा लिनुपर्ने हुन्छ ।’
महासचिवको अध्यक्ष माथिको यस्तो आरोपले केन्द्रमा पनि यो विवाद यसै सेलाउने अवस्था देखिँदैन । आईसीसीको आउने जुलाई ३० मा युरोपमा बस्न लागेको बैठकमा यो विषय चर्किने देखिएको छ । एनआरएनएमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्तले यस विषयमा के धारणा राख्छन्, यसमा पनि यो विषय निर्भर छ । संख्याको हिसाबमा एनआरएन अमेरिकावाट जाने प्रतिनिधिको आगामी एनआरएनएको निर्वाचनमा पनि महत्वपूर्ण भूमिका हुन्छ । यसले पनि विवाद आईसीसी उमेदवारको चासोको विषय छ । यो विवादमा अध्यक्ष घले पनि सोनामकै पक्षमा रहेको बताइएको छ । यसले गौरीलाई अप्ठ्यारो पार्न सक्छ ।