चीनको रक्षा मन्त्रालयले आफ्नो सार्वभौमसत्ता कुनै पनि मूल्यमा रक्षा गर्ने भन्दै भारतीय सीमासँगै रहेको तिब्बत क्षेत्रमा धेरै सेना खटाउने बताएको छ ।
चीनको रक्षा मन्त्रालयका प्रवक्ताले सोमबार भने, “दुवै पक्षद्वारा स्वीकार गरिएको सिमानामा भारतले चौकी पार गरेर जानु चिनियाँ क्षेत्रको उल्लंघन हो नै, यो अन्तर्राष्ट्रिय नियमको उल्लंघन पनि हो ।”
चीनको रक्षा मन्त्रालयले भनेको छ, भारत उसको स्थिति प्रबल हुनेछ भन्ने गलत बुझाइमा नबसे हुन्छ।
साथै चिनियाँ जनमुक्ति सेनाको पछिल्लो ९० वर्षको इतिहासले ऊ चीनको सार्वभौमसत्ता र क्षेत्रको रक्षा गर्न प्रतिबद्ध छ भनेर पुष्टि गरिसकेको पनि मन्त्रालयले जनाएको छ।
रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार त्यस क्षेत्रमा चिनियाँ सेनाले आपत्कालिन उपाय अपनाएको छ र स्थितिलाई मध्यनजर गर्दै सैनिकको संख्या पनि बढाउन लागिएको छ।
उनले भने, “चिनियाँ सेनालाई हल्लाउन पहाड हल्लाए भन्दा पनि कठिन छ”। यद्पि उनले विवादित क्षेत्रमा रहेका चिनियाँ सेना र उनीहरुको प्रशिक्षणबारे धेरै जानकारी दिएनन्।
दुई देशबीच विवाद गत महिना भारतको सिक्किम राज्यको सीमा नजिक रहेको भुटानको दोक्लाम क्षेत्रबाट शुरु भएको थियो। चिनियाँ सेना त्यहाँ सडक निर्माण गर्न चाहन्छ।
यो सडक निर्माण भयो भने यसबाट चीनलाई सामरिक फाइदा हुन्छ भन्ने भारतले आशंका गरेको छ।