अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि रुस र अमेरिकाबीचको सम्बन्ध सुधार हुनेमा धेरैले अपेक्षा गरे पनि पछिल्लो समय दुई देशबीच तनाव बढ्न थालेको छ ।
राष्ट्रपति ट्रम्पको चाहनाविपरीत अमेरिकी संसदले रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेपछि रुससँग सम्बन्ध सुधारका लागि प्रयासरत ह्वाइट हाउस आफ्नो योजना त्याग्न विवश बनेको छ ।
अमेरिकी प्रतिबन्धको प्रतिक्रियास्वरुप रुसले आफ्नो मुलुकमा रहेका अमेरिकी कुटनीतिक कर्मचारीको संख्यामा भारी कटौती गर्ने भएको छ । रुसले आफ्नो मुलुकमा रहेका ७ सय ५५ अमेरिकी कर्मचारीलाई देश छाड्न भनेको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँगको सम्बन्ध चाँडो सुधार हुने कुनै संकेत नरहेको प्रष्ट पारेका छन् । उनले अमेरिकी कुटनीतिक कर्मचारीको संख्या कटौतीलाई ‘बराबरीको सिद्धान्त’का आधारमा व्याख्या गरेका छन् । अर्थात्, अमेरिकामा जति संख्यामा रुसी कुटनीतिक कर्मचारी छन्, त्यति नै संख्यामा मात्र अब रुसमा अमेरिकी कुटनीतिक कर्मचारी रहने उनको भनाइ थियो ।
रुसमा हाल एक हजारभन्दा बढी संख्यामा अमेरिकी कुटनीतिक कर्मचारी रहेको बताइएको छ । तर अमेरिकामा रुसी कुटनीतिक कर्मचारीको संख्या ४ सय ५५ रहेको रुसी अधिकारीको भनाइ छ ।
अमेरिकाले रुसको उक्त कदमलाई ‘अफसोचजनक’ बताएको छ ।