नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावास र वाणिज्यदूतले आसन्न स्थानीय चुनावमा चलखेल गरेको आरोप लगाएका छन् । साथै उनले सरकारले यसबारे जवाफ दिन माग गरे ।
बुधबारको व्यवस्थापिका संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भीम रावलले वाणिज्य दूतावासले उम्मेदवारलाई बोलाउने, हप्कीदप्की गर्ने, भौतिक सुविधा दिने जस्ता काम गरेको आरोप लगाए ।
उनले भने, ‘कूटनीतिक मर्यादा विपरित वाणिज्य दूतावासबाट अमुक पार्टीलाई जिताउने, अमुक पार्टीलाई हराउने जस्ता क्रियाकलाप भइरहेको सरकार र परराष्ट्रमन्त्रीलाई थाहा छ कि छैन ? अविलम्ब जानकारी गराओस् ।’
अरु देशको राजदूतावास मुलुकको राजनीतिबारे छलफल हुँदा पनि सरकारले चासो नदिएकोप्रति उनले आक्रोश व्यक्त गरे । प्रधानमन्त्री शरबहादुर देउवाको आसन्न भारत भ्रमणमा यस विषयमा समेत छलफल हुने हो कि नहुने हो भन्ने उनको प्रश्न छ ।
‘प्रधानमन्त्री यही कुरामा वार्ता गर्न भारत जान लाग्नुभएको हो कि ? मलाई जिज्ञासा लागेको छ’, रावलले भने, ‘कुनै पनि देशको दूतले भियना कन्भेन्सन उल्लंघन गरेमा उसलाई फिर्ता पठाउन सकिन्छ, सरकारको ध्यान पुगोस् ।’