बाबुरामले भने केपी ओली र सिके राउतको राष्ट्रवाद उस्तै हो

राजनीति

विरेन्द्रनगर, १३  साउन | पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले केपी ओली र मधेसका सिके राउतको राष्ट्रवाद उस्तै–उस्तै भएको आरोप लगाएका छन् ।

पार्टीको ६ नं. प्रदेशको बैठक तथा राष्ट्रिय भेलाको प्रशिक्षण कार्यक्रममा उनले भने, ‘सबै समुदायमा खस आर्यवादी सोच लाद्नुपर्छ भन्ने ओलीको मण्डले राष्ट्रवाद र टुक्रिन पाउनुपर्छ भन्ने सिके राउतको राष्ट्रवाद दुवै कुरा अतिवाद हो ।’

भट्टराईले नयाँ शक्तिलाई जिउँदो माछासँग तुलना गरे । ‘मरेको माछा पानीको बहावतिर मात्र बग्छ,’ उनले भने, ‘तर जिउँदो माछा आफ्नो इच्छा र आवश्यकता अनुसार पानीको बहावविरुद्ध पनि पौडन सक्छ ।’

उनले पुराना शक्तिहरु सरकार बनाउने र गिराउने पुरानै खेलमा लागिरहेको भन्दै यसले मुलुक र जनताको जीवनस्तरमा कुनै तात्विक परिवर्तन ल्याउन नसक्ने दावी गरे । ‘ओली नेतृत्वको सरकार ढल्यो, अब प्रचण्डको नेतृत्वमा सरकार बन्ला,’ उनले भने, ‘यसपछि शेरबहादुर आउलान्, त्यसपछि अर्का बहादुर आउलान् तर जनताको जीवनमा यो व्यवस्थाले केही परिवर्तन ल्याउन सक्दैन ।’

नयाँ शक्तिले प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्दै हरेक नेतृत्व पार्टी सदस्यबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था, गल्ती गर्नेलाई प्रत्याह्वानको व्यवस्थालगायतका केही नयाँ अभ्यास सुरु गर्ने बताए । ‘अहिले को नेतृत्वमा पर्यो, को परेन भनेर चिन्ता नलिनुहोस्,’ उनले भने, ‘निर्वाचनमा गएपछि अहिले टिका लगाएका मानिस भोलि नआउन पनि सक्छन् ।’ उनले जनता र कार्यकर्ताको मन जित्न मेहनतका साथ पार्टी काममा खटिन निर्देशन दिए ।

संयोजक भट्टराईले डेढ वर्षभित्र जसरी पनि निर्वाचन गर्नैपर्ने बताउँदै त्यसमा हजारौं पदहरु सिर्जना हुने भएकोले सबैलाई त्यसका निम्ति तयार हुन निर्देशन दिए । ‘जनतालाई संगठित गर्न लाग्नुहोस्, स्थानीय मुद्दाहरु उठाउनुहोस्, असल र सामाजिक मान्छेहरुलाई वैकल्पिक राजनीतिमा लाग्ने वातावरण बनाउनुहोस्,’ उनले नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै भने, ‘सम्पूर्णरुपले निर्वाचनका लागि आफूलाई तयारी अवस्थामा राख्नबाट नचुक्नुहोस् ।

– See more at: http://www.netpatrika.com/2016/07/20679/#sthash.6XwA7hft.dpuf