एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले नेपाली समुदायको अग्रसरमा अमेरिकाका विभिन्न सहरमा बन्न लागेका कम्युनिटी सेन्टरका लागि व्यक्तिगत रूपमा १ लाख अमेरिकी डलर (करिब १ करोड रुपैंया) दिने घोषणा गरेका छन् ।
मंगलवार न्युयोर्कमा नेपाल रिजउड सोसाइटीले निमार्ण गर्न लागेको कम्युनिटी सेन्टरका लागि १० हजार डलर सहयोग घोषणा गरेर यसको सुरुआत गरेको डा पौडेलले मंगलवार हिमालयखवरलाई जानकारी दिए ।
डा पौडेलले नेपाली समुदायले अहिलेसम्म १५ सहरमा कम्युनिटी सेन्टर निमार्ण गर्न लागेको आफूलाई जानकारी आएको बताएका छन् । कुन कम्युनिटी सेन्टरलाई कति सहयोग दिने डा पौडेलले उल्लेख गरेका छैनन् । आफूले घोषणा गरेको एक लाख डलरवाट आवश्यकता अनुसार के कति उपयुक्त देखिन्छ सहयोग दिने डा पौडेलले बताए ।
टेक्ससका व्यवसायी गौरी जोशीले अमेरिकामा विभिन्न स्थानका नेपाली कम्युनिटी सेन्टरका लागि ६१ हजार एकसय पाँच अमेरिकी डलर (करिव ६२ लाख नेपाली रुपैंया) सहयोग गर्ने घोषणा गरेका छन् ।
जोशीले मंगलवार अमेरिकाका विभिन्न शहरमा स्थापना भएका र हुने क्रममा रहेका नेपाली कम्युनिटी सेन्टरलाई उक्त सहयोग दिने घोषणा गरेका हुन् । जोशीले अमेरिकाका ११ स्थानमा बन्न लागेका कम्युनिटी सेन्टरहरू हरेकलाइ ५ हजार पाँचसय ५५ डलरका दरले सहयोग गर्ने जानकारी दिए ।
टेक्सस ड्यालसमा स्थायी बसोवास भएका जोशी एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवार दिएका थिए । तर, निर्वाचन समितिले उनको नाम नराखेपछि अध्यक्षपदको दौडवाट अलग भएका थिए ।
‘मैले चुनावी अभियानका क्रममा पनि अमेरिका वस्ने नेपाली समुदायका लागि सहयोग गर्छु भन्ने बाचा गरेको थिएँ’ जोशीले भने-‘म अहिले उम्मेदवार छैन तर, पनि आफ्नो यो वाचा पुरा गर्न सहयोग घोषणा गरेको हुँ।’
एक सेन्टरलाइ एक महिनाका दरले सेप्टेम्बरबाट सहयोग दिन शुरु गर्ने जोशीले जानकारी दिए । ‘प्रत्येक महिना एउटालाई ५ हजार ५५५ अमेरिकी डलरका दरले ११ शहरका कम्यूनिटी सेन्टरलाई ६१ हजार १०५ सहयोग गर्ने छु’ उनले भने ।