नेपालको राजनैतिक विकासक्रम हेर्ने हो भने विश्वका अरु छिमेकी मित्र राष्ट्रहरु जस्तै समय सापेक्ष रुपमा तथा विश्व राजनैतिक उतार चडावबाट प्रभावित हुदै आएको छ । लामो समयसम्म नेपालमा शाह बंशीय राजाहरुलाई तत्कालिन राणाहरुले ढालको रुपमा प्रयोग गर्दै देशमा एक छत्र रुपमा जहानिया राणा शासन चलाए तर त्यो शासनले निरंकुशताको पराकाष्टा नाघे पछि स्वयम् राजा नै आफ्नो राजगद्धी दाउमा राखेर तत्कालिन जन-प्रतिनिधीहरुसंग सहकार्य गर्दै जनसंघर्षका माध्यमबाट नेपालमा एउटा बैकल्पिक राजनैतिक शक्ति निर्माण गर्न सफल भए ।
केहि समयको लागी नेपाली जनताले अब राजा र तत्कालिन राजनैतिक पार्टीको संयुक्त गठबन्धन नै उत्तम बिकल्प हो कि भन्ने सम्म सोचेका थिए । तर सत्ताको बाघडोर हातमा आए पछि छोटो समयमा नै देखिएको राजाको महत्वाकान्क्षा र नेपाली जनताको प्रजातन्त्र प्रतिको आकर्षणको कारणबाट हिजो राणा शासन अन्त्य गर्न काधमा काध मिलाएर लडेको शक्ति अब परस्पर बिरोधि शक्तिको रुपमा परिणत भयो । विश्वमा भएका राजनैतिक परिबर्तनको असर नेपाली राजनीतिमा समेत पर्यो र त्यसबेला भएको जनआन्दोलनबाट राजालाई जनताको कुरा सुन्न बाध्य हुनु पर्यो र नेपाली जनता समेत सार्बभौम सत्ताको हिस्सेदार बने । तर यसले पनि एकातिर नेपाली राजनीतिलाई शान्त पार्न सकेन भने अर्को तिर तत्कालिन राजाहरुले आफ्नो गुमेको शक्ति संचय गरि पुन निरङ्कुश शासन ब्यबस्था स्थापना गर्न लालायित भए ।अब तत्कालिन राजाहरु नेपालका तत्कालिन प्रजातन्त्रबादी नेताहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बड्दो लोकप्रियता र उनीहरु माथि बड्दै गएको जनविश्वास देखि तर्सिएर कृत्रिम रुपमा नेपाली समकालीन राजनीतिका केहि व्यक्तिहरुलाई अर्को आयातित निरंकुस शासन व्यबस्थाको पक्ष पोषण गराई प्रजातान्त्रिक नेताहरुको तेजोबध गर्ने षडयन्त्रमा लागे । तर जनताले तत्काल त्यो शक्तिलाई पत्याएनन र एउटा अर्को प्रजातान्त्रिक आन्दोलनको अगाडी राजाले घुडा टेक्न बाध्य भए अब नेपाली जनता सार्बभौम सत्ताका पूर्ण रुपमा मालिक भए । देशको यो राजनैतिक मोडमा नेपाली जनताले तत्कालिन प्रजातान्त्रिक शक्तिहरुलाई भर पर्दो बिकल्पको रुपमा लिए ।
तर यो आन्दोलनमा होमिदा आन्दोलनलाई गन्तव्यमा पुर्याउन प्रजातान्त्रिक शक्तिले निरंकुस नै भए पनि जनताको सहभागिता र नेतृत्व भएको कम्युनिष्ट पार्टीसंग सहकार्य गर्नु पर्यो । जसलाई नेपालका कम्युनिष्टहरुले आफ्नो अस्तित्व स्थापित गर्ने अवसरका रुपमा प्रयोग गरे । केहि समयलाई नेपाली जनताले प्रजातन्त्रबादी र कम्युनिष्टहरुको यो मिलनलाई उत्तम विकल्पका रुपमा ठाने । तर अब देश शक्तिका लागी राजा, पृथक राजनैतिक शिद्धान्त अंगालेका मुख्य दुइ खेमाको त्रिपक्षीय द्वन्द, अन्तरपार्टी वैमनस्यता, पार्टीका आन्तरिक द्वन्द र छिमेकी राष्ट्रका स्वार्थको लडाई बाट केहि समयमा नै पुन अस्थिर बन्न पुग्यो । यो शक्ति संघर्षमा माथि उल्लेख गरिएका सबै पक्षहरु एकले अर्को शक्तिलाई ध्वस्त बनाउने खेलमा लागे । नेपालको राजनैतिक अस्थिरताले नेटो काट्यो ।
देशमा असुरक्षा, भ्रष्टाचार बेथितिकोले राज गर्यो – यहि तरल अबस्थाको फाइदा उठाएर नेपालका केहि कम्युनिष्टहरु मध्ये एउटा घटकले तासको घर बनाउने र सबै नेपालीलाई निति-निर्माणको तहमा पुर्याउने दिवा-स्वप्न छरी देशमा शशस्त्र संघर्षको सुरुवात गरे । लामो काल खण्डसम्मको राजनैतिक अस्थिरताले वाक्क बनेका सोझा-सिधा तर इमान्दार नेपाली जनताको ठुलो संख्याले यो आन्दोलनलाई साथ दिए तर जनतालाई ढाल बनाइ आफ्नै देशका १७००० दाजु-भाइ दिदि-बहिनीहरु बलि चढाए तर त्यो आन्दोलनको पनि ठुला ठुला अर्थ लगाएता पनि सत्ता स्वार्थमा आएर सम्झौता गर्दै टुंगियो । यो आन्दोलनले नेपालमा शताब्दिऔ देखि जरो गाडेर बसेको राजतन्त्र निर्मुल गर्न सफल भयो । देशमा ठुला-ठुला परिबर्तनका डम्फु पिटिए । यो काल खण्डमा नेपाली जनताले अब त यो भरपर्दो बैकल्पिक शक्ति भयो कि भनेर आशा गरे तर नेपाली जनताले अब त केहि अवश्य हुन्छ भनेर आशा गरेका तथा कथित नेताहरु देशको सेवामा भन्दा आफ्नो परिवार, गुटको सेवामा तल्लिन भए । नेपाली जनतालाई देशको मालिक बनाउने र देशमा शान्ति र अमनचयन कायम गरि देशलाई आर्थिक समृद्धि तर्फ़ अगाडी बढाउने नारा स्खलित हुन पुग्यो ।
नेताहरु नव राजा भए, गरिब झन गरिब बन्दै गए धनि झन धनि बन्दै गए दशौ हजार जनताको रगतको आहालबाट निस्किएकाहरु नव सामन्तीका रुपमा उदाए । देशका उद्योग कल कारखानाहरु नियतले बन्द गरिए । शैक्षिक संस्थाहरुमा ब्यापक अस्थिरता र अशान्ति सिर्जना गरि निजि शैक्षिक संस्थाहरुलाई धरासायी गराइयो । जसको फलस्वरूप उच्च शिक्षा हासिल गरेका नेपाली युवाहरु आफ्नो सुरक्षित भविष्यका लागी बिदेश पलायन हुन् थाले । युवा शक्तिको बिदेश पलायन रोक्न उपाय सोच्न पर्ने बेलामा सिंगो राज्य संयन्त्र नै युवा जनशक्तिलाइ फ्री-भिसा र फ्री-टिकटको ब्यबस्था गरि विदेश पलायन गराउने नियोजित षड्यन्त्रमा लाग्यो ! जसले नेपाली जनतामा चरम निराशाको बाताबरण सिर्जना गर्यो । धेरै पटकको राजनीतिक धोखाघडीबाट आजित भएका नेपाली जनता अहिले कुनै राजनैतिक शक्तिलाई विश्वास गर्ने मनस्थितिमा छैनन् । देशको बर्तमान राजनैतिक अबस्था देखि चिन्तित हुने, विश्व राजनीति बुझेका नवजवानाहरुलाई मरुभूमिमा खेदेर राज्य सत्ता कब्जा गरि देशमा लुट मच्चाउन सहज बाताबरण सिर्जना गरिएको छ । देश यति ठुलो खाडलमा पर्दा समेत नेपाली जनताले कुनै शक्तिलाई नयाँ र भरपर्दो बैकल्पिक शक्तिको रुपमा स्वीकार गर्न सकेका छैन । जनताको यो मनस्थितिलाई उपयोग गरेर पुन: राज्य सत्ता कब्जा गर्न केहि पुरानै अस्वीकृत र असफल नेता, गुट तथा गठबन्धनहरुले नयाँ प्रयोग नगरेका होइनन तर जनताले तिनलाई स्वीकार गरेनन ।
अहिले केहि नयाँ अनुहारहरु बिभिन्न आकर्षक नाराहरु लिएर नेपाली राजनैतिक फाटमा देखिएका छन् तर तिनीहरु पनि आफ्नै शैदान्तिक अस्पष्टता, गतिबिहिनता र अपारदर्शीता भएका कारण जन-अनुमोदित हुन सकेका छैनन् । जब सम्म नेपाली जनतालाई आजका हामि भोलि यो देशलाई फलानो गन्तव्यमा पुर्याउने छौं भनेर भर पर्दो आधार दिन सक्दैनन् – जब सम्म देशमा बस्नै नसक्ने बाताबरणबाट जबरजस्ती बिदेशिएका देशको कुलमतदाता सङ्ख्याको झन्डै एक चौथाई संख्या ओगट्ने युवाहरुलाई देशको नेतृत्व चयनमा समाबेश गरिदैन तब सम्म नेपाली जनताले बैकल्पिक शक्तिलाई स्वीकार गर्न सक्दैनन् ! किन भने परिक्षण अति भए र देश परिक्षणले चल्दैन ।
अस्तु :
सिकागो, इलिनोइ
सेप्टेम्बर १२, २०१७