प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस मधेशकै पार्टी भएको बताउनुभएको छ । बुधबार कांग्रेसले जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहनुभएका देउवाले मधेशको हरेक समस्यालाई कांग्रेसले नै समाधान गर्ने दाबी गर्नुभयो ।
प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस मधेशको हरेक समस्याको समाधान गरेर मधेशी जनताको भावनाको कदर गर्ने पक्षमा रहेको बताउनुभयो । कांग्रेस संविधान संशोधनका लागि प्रयत्नशील रहेको बताउँदै प्रधानमन्त्री देउवाले पार्टीसँग स्पष्ट बहुमत नहुँदा संविधान संशोधन हुन नसकेको बताउनु भयो ।
एमालेका अध्यक्ष केपी ओलीलाई पटकपटक आग्रह गर्दासमेत नमानेर विपक्षमा उभिँदा मधेशका समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो । एमाले मधेश विरोधी र विखण्डनवादी शक्ति भएकाले जनताले अब चुनावबाटै पाखा लगाउने देउवाले बताउनु भयो ।
प्रधानमन्त्री देउवाले नेपाल भारत मिलेर मात्र डुवानको समस्या समाधान हुने बताउनुभयो । मधेशको डुवान समस्या समाधानको लागि भारतसँग मिलेर प्राविधिक टोली बनाउने भारत सरकारसँग कुरा भएको जानकारी गराउनुभयो ।
यस्तै उक्त कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले गणतन्त्र र संघीयता विरोधी पार्टी भएको आरोप लगाउनुभयो । उहाँले देशमा आएको परिवर्तनको रक्षाको लागि जनताले कांग्रेसलाई जिताउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कांग्रेसका महामन्त्री शशांक कोइराला, कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, पूर्व गृहमन्त्री विमलेन्द्र निधि ,सीतादेवी यादव, कृषि मन्त्री रामकृष्ण यादव , खानेपानी मन्त्री महेन्द्रप्रसाद यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।