प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संघ र प्रदेशमा उम्मेद्धार छनोट प्रक्रिया सुरु गरेको छ । १५ असोजभित्र सवै उम्मेद्धारको छनोट सक्नेगरी तयारी थालेको कांग्रेस कार्यालय सचिव कृष्ण गिरीले बताए ।
स्थानीय तहको निर्वाचन सकिएलगतै कांग्रेसले उम्मेद्धारी छनोट र प्रचार अभियानलाई तिव्रता दिने भएको छ । उम्मेद्धार छनोटका लागि कांग्रेसले जिल्ला कार्यसमितिहरुलाई पत्राचार गर्न लागेको हो । उम्मेद्धारको मापदण्ड नै बनाएर पत्राचार गर्ने तयारी कांग्रेसले गरेको छ ।
संघ र प्रदेशमा माओवादी केन्द्रसँग करिव ५० स्थानमा चुनावी तालमेल गर्ने नीति लिएको छ । संघ र प्रदेशमा माओवादीसँग मिलेरै भएपनि पहिलो पार्टी बन्ने लक्ष्य कांग्रेसले लिएको छ । तर कांग्रेसले सोचेजस्तो ५० स्थानमै चुनावी तालमेल हुने सम्भावना भने कम रहेको छ ।
कांग्रेसले उम्मेद्धार छनोटको प्रक्रिया अघि बढाएपछि आकाँक्षीहरु राजधानी केन्द्रीत हुन थालेका छन् । उम्मेद्धारका आकाँक्षीहरु प्रधानमन्त्री निवासदेखि प्रभावशाली नेताको दैलोमा विहानै पुग्ने गरेका छन् ।