हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपीडितका लागि एकीकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन् ।
चन्द्रपुर नगरपालिका ८ को सन्तपुर गाउँका ४५ बाढीपीडितका लागि धुर्मुस सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘ एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो । बुधबार बिहान ९ बजे सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)को साथमा बस्तीकै १०७ वर्षकी रामकलिया देवी हजाराले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
फाउण्डेशनका अध्यक्ष सितारामका अनुसार बस्ती आउँदो माघ २४ गते बिहान ९ बजे हस्तान्तरण गरिनेछ । केही समयअघि गएको बाढीका कारण रौतहटका अधिकांश ठाउँ डुबानमा परेको र सन्तपुर गाउँ बाढीबाट बढी प्रभावित भएकाले यसै ठाउँमा बस्ती निर्माण गर्न लागिएको धुर्मुसले जानकारी दिए । फाउण्डेशनकी उपाध्यक्ष सुन्तलीले धुर्मुसलाई आफ्नो हरेक जन्मदिनमा यसरी नै पुण्यको काम गर्दै अगाडि बढ्ने हौसला मिलोस् भन्दै शुभकामना दिएकी थिइन् ।
बस्ती निर्माणका लागि ५ करोड ७५ लाख रुपैयाँ लाग्ने कार्यक्रममा जानकारी गराइएको थियो । परियोजना अन्तर्गत ४५ वटा आवासीय घर, १ मन्दिर, सामुदायिक भवन, भ्यू टावर, सार्वजनिक धारा १ वटा, सार्वजनिक सौचालय १ वटा साथै कम्पाउण्डसहितको भुकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुने परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए ।
सन्तपुर गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजाम समुदायको बाहुल्यता रहेको छ ।