माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने देउवाको तयारी

माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने देउवाको तयारी
राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डलबाट सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेको खुलासा भएको छ ।

सरकारको मुख्य सहयोगी दल माओवादी केन्द्रका सबै मन्त्रीहरुलाई सरकारबाट बर्खास्त गर्ने उनले तयारी गरेको आज खुलासा भएको छ । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा एमाले–माओवादी र नयाँ शक्तिले तालमेल र चुनावपछि पार्टी एकतासमेतको तयारी गरेपछि संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरुसँग परामर्श गरेको कांग्रेसले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी अघि बढाएको हो ।

एमालेसँग चुनावी तालमेल गर्ने सहमति गरेको माओवादीले भने चुनावसम्म सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले पनि चुनावका लागि सरकारलाई सहयोग गर्ने वताउँदै आएको छ ।

तर, कांग्रेसले भने कात्तिक ५ गतेपछि संसद नरहने भएकाले अविश्वास प्रस्तावको खतरा टरेपछि माओवादी मन्त्रीहरुलाई बर्खास्त गरी अन्य दललाई सरकारमा थप्ने तयारी गरेको छ ।

एमाले र माओवादीबीच पार्टी एकता अभियान चलेपछि दुवै राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलसँग प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्श गरेका छन् । हिजोमात्रै उनले दुवै पार्टीका अध्यक्षहरुसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।

Post Comment