तनहुँ कांग्रेस विवाद: रामचन्द्र पौडेल र गोविन्दराज जोशी मैदानमा

तनहुँ कांग्रेस विवाद: रामचन्द्र पौडेल र गोविन्दराज जोशी मैदानमा
राजनीति

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा टिकट वितरणको विषयलाई लिएर विवाद चुलिएको छ । विवाद मिलाउन नसके पौडेलले नै चुनाव हार्ने अनुमान गर्न थालिएको छ ।
कांग्रेसहरुको बलियो क्षेत्र मानिएको तनहुँको निर्वाचन क्षेत्र नं १ मा वामपन्थी गठवन्धनले पौडेललाई सकस पार्ने त देखिन्छ नै, स्वंय कांग्रेस तनहुँभित्रको तछाडमछाडले पनि पौडेल असुरक्षित बन्दै गएको हुन् ।

साविक ३ वटा निर्वाचन क्षेत्र रहेको तनहुँ अहिले २ वटा निर्वाचन क्षेत्र भएको छ । ०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ नम्बर क्षेत्रबाट निर्वाचन लड्दै विजयी बन्दै आएका छन् ।
तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङका अनुसार तनहुँमा बाम गठबन्धनलाई कमजोर बनाउनका लागि कांग्रेस मिलेर जानु जरुरी छ ।

तनहुँ कांग्रेसको भित्रि रुप बुझेका गुरुङ भन्छन्, “कांग्रेसलाई बलियो बनाएर चुनाव जिताउनका लागि आफु जस्तो सुकै त्याग गर्न तयार छु, कांग्रेस जोगाउनुपर्छ ।”
एक नम्बर क्षेत्रको २ नम्बरमा गुरुङ समुहदाको बाहुल्यता भएकाले आफूले त्यस क्षेत्रबाट चुनाव जित्न सक्ने दाबी रेशम गुरुङको छ । “कसलाई कहाँ उम्मेदवार बनाउँदा चुनाव जित्न सकिन्छ भन्ने कुरा पार्टी नेतृत्वले बुझ्नुपर्छ ।” गुरुङले भने ।

विगतमा आफैंले छाडेको क्षेत्र नं १ का अधिकांश भूभाग समेटिएको क्षेत्र नं २ को भूगोलमा पौडेल २४ बर्षपछि फर्कन लागेका छन् । पौडेलले छाडेपछि कांग्रेसकै नेता गोविन्दराज जोशीले सम्हाल्दै आएका थिए । जोशीले तनहुँ १ बाट ०५१ र ०५६ मा भएको संसदीय निर्वाचनमा जिते पनि ०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा उनी तेस्रो भए । अकुत सम्पती आर्जन गरी भष्ट्राचार गरेको अभियोग जोशीमाथि लागेपछि उनको राजनीति कमजोर बनेको छ । तर अहिले जनताले आफूलाई चाहेको दाबी गर्दै जोशीले टिकटका लागि दबाब दिदै आएका छन् ।

जोशीलाई समानुपातिकमा भए पनि समावेश गर्नुपर्ने धारणा कोषाध्यक्ष गुरुङलेसमेत राख्दै आएका छन् ।

तनहुँमा पौडेल र जोशी मात्र नभै अन्य धेरै नेताहरुले पनि टिकटका लागि दाबी गर्दै आएका छन् । अमरराज कैनी,  रेशम गुरुङ, प्रदिप पौडेल, गोविन्द भट्टराई, धु्रव वाग्ले, शंकर भण्डारी लगायतका कांग्रेस नेताहरु तनहुँबाट उम्मेदवारका लागि योग्य मानिएको छ । उल्लेखित नेताहरुलिाई मिलाउन सके तनहुँमा कांग्रेसको जित निश्चित भएको गुरुङको तर्क छ । “यस विषयमा पौडेलले मिलाउन सक्नुपर्छ ।” गुरुङ भन्छन् ।

नेपाली कांग्रेसका पूर्व सह महामन्त्रीसमेत रहेका गोविन्दराज जोशीलाई क्षेत्र नम्बर १ बाट टिकट दिन माग गर्दै तनहुँका कांग्रेस कार्यकर्ताले केही अघि सदरमुकाम दमौलीमा प्रदर्शनसमेत गरेका थिए । त्यस्तै टिकट पाउनुपर्छ भन्दै जोशी आफै पनि पार्टी सभापति शेरबहादुर देउवा लगायतका प्रभावशाली नेताकहाँ धाइरहेका छन् ।

Post Comment