इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा सोलुखोलामा साढे ८ अर्ब लगानी

अर्थ​

solu-investment

२१ साउन, काठमाडौं । सोलुखुम्बुस्थित ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजनामा इन्भेष्टमेन्ट बैंकको ‘कन्सोर्टिएम लिड’ मा जलविद्युत लगानी तथा विकास कम्पनीसहित १० बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । बिहीबार साँझ आयोजना निर्माण गर्ने कम्पनी शाहस उर्जा लिमिटेड र बैंकबीच आयोजना निर्माणका वित्तीय लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । जलविद्युत विकास कम्पनी, ९ बाणिज्य र १ विकास बैंकले आयोजनामा लगानी गर्ने सम्झौता भएको हो । कृषि विकास, राष्ट्रिय बाणिज्य, सानिमा, सेन्चुरी, एनसीसी, प्रभु, सिभिल, सनराइज र एनएमबी बैंकले इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा आयोजनामा लगानी गर्ने भएका हुन् । आयोजनामा एनआईडिसी डेभलपमेन्ट बैंकले समेत लगानी गर्ने भएको छ ।

लिडर इन्भेष्टमेन्ट बैंक एक्लैले डेढ अर्ब रुपैयाँ लगानी गर्नेछ । त्यसैगरी, जलविद्युत लगानी तथा विकास कम्पनीले १ अर्ब र बाँकी रकम अन्य बैंकहरुले लगानी गर्नेछन् । आयोजनाको कूल लागत ११ अर्ब ८६ करोड रुपैयाँ हो । बैंक ऋणबाट नपुगेको रकम प्रवर्द्धकहरुले लगानी गर्नेछन् ।
आगामी हिउँदबाट निर्माण सुरु गर चार बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष राखेको कम्पनीका प्रबन्ध सञ्चालक हिम पाठकले बताए । यो परियोजना निजी क्षेत्रबाट हालसम्म प्रबर्धित पब्लिक कम्पनी मध्ये सबै भन्दा ठूलो हो । कम्पनीले भविष्यमा सर्वसाधारण एवं स्थानियलाई सेयर दिने जनाएको छ ।

परियोजनाबाट उत्पादित बिद्युत लामाने स्थित नेपाल बिद्युत प्राधिकरणको सबस्टेसनमा जडान गरि सोलु करिडोर प्रशारणलाईमा जोडिनेछ । प्रशारण लाईन नेपाल बिद्युत प्राधिकरणले निर्माण गर्नेछ । सोलु र दुधकोशी नदीको संगममा बन्न लागेको परियोजनाबाट उत्पादित विद्युत खरीदका लागि गत बर्षनै नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाबाट उत्पादित विजुलीे प्रतियुनिट बषर्ायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा पाउनेछ ।