नेपाल तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईंले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् ।
सरकार निर्वाचन गर्न नचाहेको अफवाह फैलाएर वाम गठबन्धनले चुनाव भाँड्न खोजेको आरोप समेत लगाएका उनले कुनै पनि हालतमा तोकिएकै मितिमा दुवै तहका चुनाव हुने दाबी गरे ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका कम्युनिष्टहरु नीतिगतमै कम्युनिष्ट रहेका उनी चुनाव भाँडेर सत्ता कब्जा गर्न अग्रसर भएको चापागाईंको आरोप छ ।
एमाले र माओवादी केन्द्रले वाम गठबन्धनको नाममा मुलुकमा फेरि प्रतिगमन ल्याउन खोजेको भन्दै उनले उनीहरुको सपना कांग्रेसले साकार हुन नदिने बताए । वाम गठबन्धनले मुलुक र जनहितमा केही गर्न नसक्ने जिकीर गरेका चापागाईंले वाम गठबन्धनको गठन नै चुनाव हुन नदिएर सत्ता कब्जा गर्दै साम्यवाद लाद्न खोजेको आरोप लगाए ।
तर, एमाले र माओवादीको मुलुकमा प्रतिगमन ल्याउन खोज्ने प्रयास असफल पार्न कांग्रेसले लोकतान्त्रिक गठबन्धनको कुरा उठाएको उनले जानकारी दिए । कांग्रेसका महासमिति सदस्य समेत रहेका उनले विभिन्न चरणका संघर्षबाट प्राप्त भएका उपलब्धीको रक्षा र कार्यान्वयन गर्न कांग्रेस दृढ रहेको प्रतिबद्धता जनाए ।
आसन्न निर्वाचनबाट दक्ष, लगनशीलता र भिजन भएका नेतालाई आफ्नो प्रतिनिधि चुन्न मतदातालाई आग्रह गरेका उनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता आउन विश्वास व्यक्त गरे । यससँगै मुलुक आर्थिक क्रान्ति गर्दै समृद्धिको बाटोमा अग्रसर हुने उनको दाबी छ ।