प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अधिनायकवाद लाद्ने कम्युनिष्ट दलको सपना कांग्रेसले पूरा हुन नदिने बताउनुभएको छ ।
कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उहाँले एमाले र माओवादी केन्द्र समाजवादका नाममा अधिनायकवाद ल्याउने योजना बनाइरहेको आरोप लगाउँदै त्यो कांग्रेसले पूरा हुन नदिने बताउनुभयो ।
उहाँले २००७ सालदेखिका सवै क्रान्तिको अगुवाई कांग्रेसले गरेको र अब पनि देशलाई सम्बृद्ध बनाउन र लोकतन्त्रलाई कसैले कहिल्यै खोस्न नसक्ने बनाउन आगामी चुनावमा कांग्रेसले बहुमत पाउनुपर्ने बताउनुभयो ।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जारी गर्ने दलहरु नै राजनीतिक ब्यवस्था फेर्न लागिपरेको आरोप लगाउनुभयो । संविधान जारी गरेका दलहरु नै अहिले संविधान विरोधी गतिविधी र धारणा सार्वजनिक गरिरहेकाले यो खतरनाक रहेको उहाँको आरोप छ । काँग्रेसको घोषणापत्रमा एमालेलाई नक्कली राष्ट्रवादी र माओवादीलाई अवसरवादी भनिएको छ । एमाले राष्टिय एकता र समृद्धिको बाधक बनेको कांग्रेसको आरोप छ । कांग्रेसले घोषणपत्रमा अबको १० बर्षभित्र भोकमरी हटाउने र भ्रष्टाचार निर्मुल पार्ने दावी गरिएको छ । अबको १० बर्षभित्र नेपाललाई विकसित तथा भ्रष्टाचार र भोकमरीमुक्त देश बनाउन ५ खर्ब रुपैयाँसम्मको विदेशी लगानी भित्र्याएर सवै युवालाई रोजगारी दिने, सबै नेपालीको स्वास्थ्य बिमा गर्ने, जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने, १५ हजार मेगावटे विजुली उत्पादन गर्ने, पाँचवटा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने र बार्षिक ३२ लाख पर्यटक भित्र्याउने कुरा कांग्रेसको घोषणापत्रमा उल्लेख गरिएको छ ।
यस्तै सबै नागरिकमा मोबाइल फोन र इन्टरनेटको पहुँच पुर्याउने, सोह्र वर्षभन्दा माथिका सबै नेपालीको बैंक खाता खोल्न लगाउने, ७५ प्रतिशत नागरिकको आधुनिक, सुविधासम्पन्न र भूकम्पप्रतिरोधी घर भएको शहरमा बसोबास गराउने योजना पनि कांग्रेसको घोषणापत्रमा छ । सबै छिमेकी देशसँग स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्दै गैरआवासीय नेपालीहरुको सीप र पुँजीको अधिकतम प्रयोग गर्ने प्रतिबद्धता पनि कांग्रेसले आप्नो घोषणापत्रमा गरेको छ ।