पाँच वर्षभित्र गरिबीमुक्त बनाउने वाम गठबन्धनको प्रतिवद्धता (घोषणापत्रसहित)

पाँच वर्षभित्र गरिबीमुक्त बनाउने वाम गठबन्धनको प्रतिवद्धता (घोषणापत्रसहित)
राजनीति

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपाललाई पाँच वर्षभित्र गरिबीमुक्त बनाउनेदेखि भारतसँग गरिएको असमान सन्धि र सम्झौताको पुनरावलोकन गर्ने प्रतिवद्धता जनाएका छन् ।

आउँदो मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावको लागि तालमेल गरेका यी दुई पार्टीले २९ पेज लामो आफ्नो घोषणापत्रमा नेपाललाई पाँच वर्षभित्र गरिबीमुक्त बनाउने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पनि पाँच लाख रुपैयाँ पुर्याउने महत्वकांक्षी योजना अघि सारेका छन् । अहिले प्रतिव्यक्ति झण्डै ८० हजार रुपैयाँ कमाइरहेका नेपालीलाई पाँच लाख रुपैयाँ पुर्याउने उनीहरुको लक्ष्य छ ।

उनीहरुले विक्रम संवत् २०९९ सम्म नेपाललाई समन्नुत राष्ट्रको स्तरमा पुर्याउने गरी आर्थिक र विकासका योजना अगाडि बढाउने लक्ष्य लिएको घोषणापत्रमा उल्लेख गरेका छन् ।

यस्तै भारतसँग गरिएको सन् १९५० को सन्धि लगायत सबै असमान सन्धि र सम्झौताको पुनरावलोकन गरी राष्ट्रिय हित र आवश्यकता अनुरूप प्रतिस्थापन गर्ने गठबन्धनको लक्ष्य छ । त्यससँगै सीमा समस्याको समाधान र सीमा–नाकाको व्यवस्थापनका लागि कूटनीतिक पहल गरिने घोषणापत्रमा उल्लेख छ ।

यसैगरी गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र आर्जनलाई राष्ट्र निर्माणमा लगाउने नीति लिँदै प्रवासी नेपाली नागरिकको श्रम सम्बन्धी हक लगायत अन्य हकको सुरक्षाका लागि प्रभावकारी पहल गर्ने उनीहरुको प्रतिबद्धता छ ।

यस्तै गठबन्धनले समृद्धिका कार्यक्रममा भूमिको वैज्ञानिक व्यवस्थापन, आधुनिक कृषि र सम्पन्न किसानको सपना पनि देखेको छ । जसमा कृषिभूमि अतिक्रमण गर्न नपाइने र कृषियोग्य भूमि चक्लाबन्दी गर्न प्रोत्साहन गरिने व्यवस्था लागू गर्ने उल्लेख छ । साथै दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न तथा माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउँदै पाँच वर्ष्भित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्याउने उल्लेख छ ।

यसैगरी २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण २०७६ सालभित्र सम्पन्न गरिसक्ने, बाढी पहिरोमा घडेरीसमेत गुमाएका परिवारका लागि घर बनाउन निःशुल्क घडेरीको व्यवस्था गर्ने, घरवारबिहीन दलितका लागि १ वर्षभित्र घर उपलब्ध गराइने र गरिबी पछौटे अवस्था २ वर्षभित्र समाप्त गरिने घोषणापत्रमा छन् ।

साथै राष्ट्रिय स्तरमा भूकम्प, बाढी र पहिरो लगायत विपत् व्यवस्थापनका लागि स्थायी संयन्त्र निर्माण गर्ने स्थानीय तहका सबै संरचना प्राकृतिक जोखिमबाट सुरक्षित, विपदप्रति संवेदनशील र अपाङ्गमैत्री बनाइने घोषणापत्रमा उल्लेख छ ।

यसैगरी यातायात पूर्वाधार : आर्थिक रुपान्तरणको आधार नारा दिएको गठबन्धनले काठमाडौं तराई दु्रतमार्ग ४ वर्षभित्र निर्माण गर्ने र पूर्व पश्चिम राजमार्गलाई ५ वर्षभित्र ८ ६ लेनमा स्तरोन्नती गर्ने र हुलाकी राजमार्ग बनिरहेको तराईका डुबान क्षेत्रमा ४ लेनको आकाशे मार्ग बनाउने उल्लेख गरेको छ ।

अन्तराष्ट्रिय सम्पर्कका लागि हवाई र जलमार्गको सपना पनि बाम गठबन्धनको घोषणापत्रमा छ । यस्तै पर्यटन, शिक्षा र स्वास्थ्यको कुरालाई पनि घोषणापत्रमा प्राथमिकतामा साथ राखिएको छ ।

Post Comment