शेरधन राईलाई लक्षित गरी बम प्रहार ,अंगरक्षक घाइते

शेरधन राईलाई लक्षित गरी बम प्रहार ,अंगरक्षक घाइते
राजनीति

भोजपुर प्रदेशसभाका उम्मेद्वार एवम् नेकपा एमालेका नेता शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् ।

गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर उम्मेद्वार राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको हो ।

सडकको घुम्तिमा पारेर हानिएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ । उम्मेद्वारसहित अन्य सकुशल रहेको सँगै रहेका युवा नेता मकर खड्काले बताए ।

पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई बम कसले हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयले बम प्रहारको पुष्टि गरेको छ । थप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न टोली पठाइएको प्रहरीले बताएको छ । यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो । यो आक्रमणमा विप्लव निकट नेकपाका कार्यकर्ताको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।

Post Comment