निधि र महतोको भविष्यको परीक्षामा हाम फाल्ला त वाम ?

निधि र महतोको भविष्यको परीक्षामा हाम फाल्ला त वाम ?
राजनीति

धनुषा निर्वाचन क्षेत्र नं ३ मा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ । यस क्षेत्रका प्रभावशाली नेता नेपाली काँग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले उम्मेदवारी दिएसँगै कसले बाजी मार्ने भनेर चौतर्फी चर्चाको विषय बनेको छ । निर्वाचनका सन्मुख मतदातालाई फकाउन काँग्रेसका नेता निधि र राजपाका नेता राजेन्द्र महतो दिनरात खटिएका छन् । बिहान उठेदेखि अबेर रातिसम्म दुवै नेताको प्रचारप्रसारका कार्यक्रम चलिरहेको छ ।

दुवै नेताले जित आफ्नो पक्षमा पार्न आफ्नो क्षेत्र बाहेक अन्य कुनै क्षेत्रमा जानसकेका छैनन् । महतो प्रतिस्पर्धी नहुँदा निधिलाई त्यति गाह्रो थिएन तर उनको उम्मेदवारीले कडा प्रतिस्पर्धा हुने आँकलन सबैले गरिरहेका छन् । धनुषा ३ मा मुस्लिम मतदाताको पनि महत्वपूर्ण भूमिका हुने भएकाले त्यो मत तान्न पनि दुवै नेताको जोडतोड छ । यसअघिका चुनावमा धनुषा ३ बाट विमलेन्द्र निधिले लगातार दुई पटक र एक पटक धनुषा ४ बाट जितेका थिए । पछि ४ बाट कृष्णप्रताप मल्लसँग पराजित भएपछि उनले क्षेत्र परिवर्तन गरेका हुन् ।

पछिल्लो पटक सडक निर्माण कार्यमा निकै प्रशंसा बटुलेका उनलाई स्थानीयवासीले विकास पुरुषको रूपमा प्रचारप्रसार गरिरहे पनि परिस्थिति सहज छैन । पहिलो संविधानसभाको चुनावमा एमाले नेता हरिदेव मण्डलसँग करिब दुई हजारको मतान्तरले विजय भएका निधि २०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेकी जुली महासेठसंग एक हजार ४९३ मतको मतान्तरले विजयी भएका थिए ।
यसपालीको चुनावमा वामपन्थी गठबन्धनले कमजोर उम्मेदवारलाई उठाएको छ । रामसिंह यादव सो क्षेत्रका लागि नयाँ अनुहार मात्रै होइन जनताको प्रत्यक्ष राजनीतिमा समेत नौलो अनुहार बनेका छन् । स्रोतका अनुसार रघुवीर महासेठ र राजेन्द्र महतोबीच गठबन्धन भएको र महासेठले नेता महतोलाई सहयोग गर्ने आन्तरिक तयारी भइरहेको चर्चामा आएको छ ।
सर्लाही छोडेर धनुषा आएका महतोलाई जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अलोकप्रियताले पनि समस्या पारेको चर्चा सुनिन्छ ।

स्थानीयतहको चुनावमा धनुषा निर्वाचन क्षेत्र नं ३ मा पाँच लाख ८८ हजार ८७२ मतमध्ये ३ को ‘क’ मा ३३ हजार ६६१, ३ को ‘ख’ मा २५ हजार ३११ मत खसेको थियो । उपमहानर प्रमुख र गाउँपालिका अध्यक्षमा राजपालाई ‘क’ मा ४३ सय ८० र ख मा ८७ सय ९२ गरी १३ हजार १७२ मत प्राप्त भएको थियो भने नेपाली काँग्रेसलाई ‘क’ मा १० हजार ९२८, ‘ख’ मा सात हजार तीन सय ८ मत गरी १८ हजार १३१ मत आएको थियो । यसैगरी एमालेको ‘क’ मा नौ हजार ९५९, ‘ख’ मा दुई हजार ६८४ गरी १२ हजार ६४३, संघीय समाजवादी फोरमको ‘क’ मा तीन हजार ११०, ‘ख’ मा ९९८ गरी चार हजार १०८, माओवादी केन्द्रलाई ‘क’ मा एक हजार ६६१, ख मा ७८१ गरी दुई हजार ४४२ मत प्राप्त भएको थियो ।

विकल्प चाहेकोले म जित्छु : यादव
वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले यस क्षेत्रका नागरिकले युवा र नयाँ नेतृत्व चाहेकोले आफू जित्ने दावी गर्नुभयो । निधि र महतो सत्ताको दुरुपयोग गर्ने र नातावाद कृपावादमा अल्झने भन्दै यादवले त्यसको विकल्पमा नागरिकले आफूलाई रोज्ने बताउनुभयो । अब वाम गठबन्धनकै स्थायी सरकार हुने र देशले कोल्टो फेर्ने भएकाले पनि नागरिकले आफूलाई अत्यधिक मतले विजयी बनाउने यादवको भनाई छ ।

स्थानीय तहको परिणामअनुसार टक्कर
धनुषा क्षेत्र नं. ३ प्रतिनिधि सभामा धनौजी गाउँपालिका, नगराईन नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, विदेह नगरपालिकाको वडा नं. ९ र जनकपुर उपमहानगरपालिकाको २५ वटा वडा मध्ये १७ वडा पर्दछ । जसमा जनकपुर उपमहानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, १०, ११, १२, १५, १६, २०, २३, २४ र २५ नम्बर वडा रहेको छ । धनुषा क्षेत्र नं. ३ कुल ९७ हजार ५ सय २ मतदाता रहेका छन् । यस क्षेत्रको कुल मतदाता ९७ हजार ५ सय २ रहेको छ ।  स्थानीय तहको चुनावमा यस क्षेत्रमा पर्ने नगराईन नगरपालिका र धनौजी गाउँपालिकामा नेपाली कांग्रेस, मुखियापट्टी मुसहरनियामा नेकपा एमाले र जनकपुर उपमहानगरपालिकामा राजपा नेपाल विजयी भएको थियो ।

यस परिणामलाई आधार मान्ने हो भने क्षेत्र नं. ३ भित्र पर्ने सबै स्थानीय तह र जनकपुर उपमहानगरपालिकाको १७ र विदेह नगरपालिकाको ९ नम्बर वडाको मत परिणाममा कांग्रेसले १८ हजार ४ सय ६३ मत प्राप्त गरेको छ । चुनावी तालमेल गरेको राजपाको १४ हजार ७ सय ४२ र फोरमको ३ हजार ३ सय ४६ मत जोडेर राजपा फोरम गठबन्धनको १८ हजार ८८ मत हुन्छ ।
त्यस्तै वाम गठबन्धन भित्र पर्ने नेकपा एमालेको १२ हजार ८ सय ५२ मत र नेकपा माओवादी केन्द्रको २ हजार ३ सय ८३ मत जोड्दा १५ हजार २ सय ३५ हुन्छ ।
यदि स्थानीय तहको चुनावको मत परिणमलाई आधार मान्ने हो भने कांग्रेसका उम्मेदवार निधि र राजपा फोरम गठबन्धनका संयुक्त उम्मेदवार महतो बीच कडा प्रतिस्पर्धा देखिन्छ । दुई दलको बीचमा झण्डै अढाईहजार मतले मात्र पछि परेको वाम गठबन्धनका उम्मेदवार रामसिंहलाई पनि प्रतिस्पर्धाभन्दा पछि मान्न मिल्दैन । तर स्थानीय तहमा दलहरुले पाएअनुसारको मत प्रतिनिधसभा र प्रदेशसभामा आउने कुनै कारण भने देखिँदैन ।

महतोको राजनीतिक यात्रा
२०४६ सालको आन्दोलनको समयमा महतो काठमाण्डौमा व्यापार व्यवसायमा पनि जमेका थिए । प्रविणता प्रमाण पत्र तह र स्नात्तक सम्मको अध्ययन गर्दा काठमाण्डौमा मधेसी समुदाय प्रति हुने गरेको भेदभाव र विभेद उनले आफै पनि भोगेका थिए । त्यसकारण २०४६ सालको आन्दोलनमा गजेन्द्रनारायण सिंहको तत्कालिन सदभावना परिषदमा अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए । पञ्चायत कालमा नै गजेन्द्र नारायण सिंह सप्तरीबाट लड्दा धोतीको पहिचान र मधेसको मुद्दा उठाउँदा सिंह प्रति महतो विद्यार्थी काल देखि नै आकर्षित थिए ।

अध्ययन पश्चात काठमाण्डौमा उनी व्यापारमा जमेका थिए । ट्राभल एजेन्सी, कुरियर सेवा, मोटर सेवा लगायत विभिन्न सेवा मुलक व्यवसायमा जमेका महतो २०४६ सालको आन्दोलन पछि काठमाण्डौको डिल्ली बजारमा गजेन्द्र नारायण सिंहसँगको भेटघाट पछि सदभावना परिषदमा आवद्ध भए ।

२०४८ सालको पहिलो निर्वाचनमा सर्लाहीबाट महतोले प्रतिनिधि सभाको चुनाव लड्दा नेपाली कांग्रेसका मिना पाण्डेसँग पराजित भए । १३ सय मत अन्तरले महतो दोस्रो स्थानमा पुगेका थिए ।
त्यसपछि २०५१ सालको मध्यावधि चुनावमा पुनः सोही क्षेत्रबाट चुनाव लड्दा ३ सय मत अन्तरले फेरी मिना पाण्डेसँग महतो पराजित भए । त्यतिबेला देशका पुर्व प्रधानमन्त्री सूर्यबहादुर थापा पनि सोही क्षेत्रबाट चुनाव लड्दा थापा तेस्रो भएका थिए ।

२०५६ सालको निर्वाचनमा फेरी महतोले मिना पाण्डे र सुर्यबहादुर थापासँग चुनाव लडे तर त्यहाँ महतो अत्यधिक मत अन्तरले निर्वाचित भए । २०६४ सालको पहिलो संविधानसभाको चुनावमा अत्यधिक मतले सदभावना पार्टीका अध्यक्षको हैसियतमा राजेन्द्र महतो चुनाव जिते पनि २०७० सालमा भएको दोस्रो पटकको संविधानसभाको चुनावमा महतो तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवबाट पराजित भए ।

निधिको राजनीतिक यात्रा
विमलेन्द्र निधि जनकपुरको सरस्वती माविमा कक्षा ९ मा पढ्दै गर्दा विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए । ९ कक्षामा रहेका बेला उनले नेविसंघको नेतृत्वमा त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस राराब जनकपुरमा स्ववियूको नेतृत्व कसले गर्ने भन्ने रणनीतिहरू बनाउथे । जब उनी १० कक्षामा पुगे आनन्द ढुङ्गानालाई स्ववियू सभापति बनाए र आफु निकट गणेश तिवारीलाई सचिवमा जिताए । विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै पञ्चायती व्यवस्था विरुद्ध कालो झण्डा देखाउने क्रममा रामप्रसाद गिरी, विमलेन्द्र निधि, महन्थ ठाकुर, रामकिशोर यादव पक्राउ परी जलेश्वर जेल गएका थिए । करिब ४÷५ महिनापछि उनी रिहा भएका थिए ।

फेरी २०२९ सालमा भएको विद्यार्थी आन्दोलनमा पक्राउ परी सिन्धुली जेल चलान गरिए । एक महिना पछि उनी रिहा भए । २०३१ सालमा बम काण्डमा उनी गिरफ्तार परे । जनकपुरको क्षेत्रिय प्रहरी कार्यालयमा बम विस्फोटन गराउने उद्देश्यले निधिले भारतको बनारसबाट बम ल्याएका थिए ।

तर, कुनै कारण वस त्यो रणनीति सफल हुन सकेन । र, बम फिर्ता गरियो । तर उनलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइयो र १६ महिनापछि जेलबाट निधि मुक्त भए । २०३३ सालमा निर्वासित जीवन विताईरहेका विपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर जनकपुर आएका थिए । विपीलाई विभिन्न ७ वटा मुद्दाहरूमा फाँसी सजाय तोकिएको थियो । विमलेन्द्र निधिले २५ सुत्रिय माग राखेर जनकपुरको राराब क्याम्पसमा हडताल सुरु गरे ।

विमलेन्द्र निधिलाई समातेर जलेश्वर जेल पठाइयो । तै पनि उनीसँगैका विद्यार्थी नेताहरूले हडताल जारी राखे । त्यसपछि विद्यार्थी नेताहरू रामसरोज यादव, गणेश तिवारी, संजिव थापा, ज्ञानेन्द्र राउत, सविना कोइराला, दिगम्बर राय, दामोदर खनाल पक्राउ परे । २० महिना पछि शान्ति सुरक्षा मुद्दामा पक्राउ परेका निधि जलेश्वर जेलबाट रिहा भए । निधिले कात्तिक २०५१ मा भएको मध्यावधि चुनाबमा धनुषा क्षेत्र नं ४ जनकपुरबाट नेकपा एमालेकि शारदा झालाई पराजित गरी पहिलोपटक जनप्रतिनिधिका रुपमा निर्वाचित भए । बुवा महेन्द्र नारायणले २०४८ सालको चुनाबमा २२ हजार मतले जितेको क्षेत्रमा एमालेकी चर्चित नेतृ शारदा झालाई ५ हजार मतले पराजित गर्दै निधि पहिलोपटक सांसद भएका थिए ।

गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा समान्य प्रशासन मन्त्री भएर पहिलोपटक सिंहदरबार छिरेका निधिले त्यसयता हालसम्म तीनपटक मन्त्री भए । ६ असोज २०५९ मा काँग्रेसबाट काँग्रेस प्रजातान्त्रिक टुट्दा शेरबहादुर देउवासँगै प्रजातान्त्रिकमा गएका निधि ८ असोज २०६४ का दिन नेपाली काँग्रेसमा ‘मर्ज’ हुँदा काँग्रेसको महामन्त्रीको हैसियतमा पुगे ।

Post Comment