गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ,को हुन् बस्नेत ?

गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ,को हुन् बस्नेत ?
समाज

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकार समीरमानसिंह बस्नेत पक्राउ परेका छन् ।

काठमाडौं–१३ बाफलका ३४ वर्षीय बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शनिबार चितवनको नारायणगढबाट पक्राउ गरेको हो । सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले बस्नेतकै योजनामा गौचनको हत्या भएको बताए ।

‘गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेत पक्राउ परेका छन् । अहिलेसम्मको अनुसन्धान हेर्दा उनी नै हत्याका मुख्य योजनाकार हुन् । हत्यामा संलग्न अन्य अभियुक्तको खोजी भइरहेको छ,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले भने ।

दुर्गा तिवारी हत्या र दावा लामामाथि गोली प्रहार पनि बस्नेतबाटै 
प्रहरीका अनुसार रूपन्देहीका दुर्गा तिवारीको हत्यामा पनि बस्नेतकै संलग्नता छ । तिवारी एमालेनिकट युवा संघका जिल्ला अध्यक्ष थिए ।  उनको हत्या गर्न बस्नेतले मनोज पुनलाई प्रयोग गरेका थिए । हत्यालगत्तै पुनले प्रहरीलाई फोन गरेर जिम्मेवारी लिएका थिए ।

त्यस्तै, डनका रूपमा परिचित दावा लामामाथि पनि बस्नेतकै निर्देशनमा गोली प्रहार भएको थियो । दावालाई बस्नेत समूहले २९ चैत ०७३ मा गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको गेटमा गोली प्रहार गरेको थियो । तीन गोली लागेका लामा उपचारपछि बाँच्न सफल भएका थिए ।

यसरी पक्राउ परे बस्नेत
प्रहरीले बस्नेतको कमजोरी पक्राउ परेका अन्य अभियुक्तमार्फत लियो । हत्यामा प्रयोग गरिएका प्रविधिबारे जानकारी पनि उनीहरूबाटै प्राप्त गर्यो । पक्राउ परेका अभियुक्तले बस्नेत भारतमै लुकेका जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत प्रहरीले बस्नेतलाई चितवनसम्म ल्याउन योजना बनायो । योजनाअनुसार नै बस्नेत चितवन आए । चितवन आएकै वेला उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बस्नेत पक्राउ गर्न पाँच लाख भारु अर्थात् आठ लाख रुपैयाँ खर्च भएको छ ।

को हुन् बस्नेत ?
समिरमानसिंह बस्नेत काठमाडौं–१३ बाफलका स्थायी बासिन्दा हुन् । उनको शैक्षिक योग्यता +२ अध्ययन हो । कलेज पढ्दापढ्दै उनी चक्रे मिलन उर्फ मिलन गुरुङसँग निकट भए ।

अध्ययन छोडेर पूर्णकालीन रूपमा चक्रे मिलन समूहमा बसेर आपराधिक काममा सक्रिय बने । चक्रे मिलनसँग विवाद भएपछि उनी कुमार घैँटे समूहमा लागे । घैँटे समूहसँग संलग्न रहेका वेला उनले असुली धन्दा चलाए ।

घैँटे राजनीतिमा लागेपछि उनले घैँटे समूह पनि छाडे र आफ्नै समूह बनाउन तर्फ लागे । आश्रयस्थलका लागि भारतमै बसेका वेला उनको मनोज पुनसँग भेट भयो । मनोजको सक्रियतापछि समूहमा अन्य सदस्य पनि थपिए । र, डनका रूपमा आपराधिक क्षेत्रमा उदाए ।

गौचन हत्यामा १५ जना संलग्न
प्रहरीका अनुसार गौचन हत्यामा १५ जना संलग्न थिए । हत्याको योजना बस्नेतले बनाए पनि हतियारदेखि बस्दोबस्तीका अन्य व्यस्थापन भने लोप्साङ लामा र मनोज पुनले गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले वसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेशकुमार पाण्डे र सन्तोष गुरुङलाई पक्राउ गरिसकेको छ ।

मनोज पुन, लोप्साङ लामा, गंगाप्रकाश लिङ्देन, श्याम गोम्बे गुरुङ, अमरबहादुर थापामागर, रोशन बुढाथोकी र अजय थापा भने फरार छन् ।

‘हत्याका मुख्य योजनाकार बस्नेत भए पनि उनी फिल्डमा खटिएको देखिँदैन । यसमा लोप्साङ लामा र मनोज पुन संलग्न भएको देखिन्छ । हतियारदेखि बन्दोबस्तीका सबै सामग्री जुटाउने काम लामा र पुनबाटै भएको देखिन्छ,’ डिआइजी कार्कीले भने, ‘हत्याका लागि टोली बनाउने, ठाउँको रेकी गर्ने र निर्देशन दिने काम लामा र पुनले नै गरेको देखिन्छ । उनीहरूको खोजी भइरहेको छ ।’

सामाजिक सञ्जाल प्रयोग
दुर्गा तिवारी हत्या र दावा लामामाथि गोली प्रहार घटनामा प्रहरी अनुसन्धानले कुनै भेउ पाउन नसकेपछि बस्नेतको मनोबल बढ्न पुग्यो । दुवै घटनाका योजना उनले भारतमा बसेर बनाएका थिए । प्रहरीको असफलताले बस्नेत समूहलाई झनै हौस्यायो ।

यही पृष्ठभूमिमा बस्नेत समूहले गौचन हत्याको योजना भारतमै बनायो । यसका लागि सूचना संकलनमा उनीहरूले अत्याधुनिक प्रविधिको प्रयोग गरेका थिए ।

प्रहरीबाट मोबाइल फोन ट्याप हुनेप्रति उनीहरू जानकार थिए । सोही कारण उनीहरूले गौचन हत्यामा मोबाइल फोन प्रयोग गरेनन् । यसका लागि ‘हाई स्पिड’ सुविधासहितको इन्टरनेट डाटा (फोरजी) सुविधा लिए । भाइबर, ह्वाट्स एप र म्यासेन्जर चलाए ।

सूचना संकलनका लागि यही सुविधामार्फत फोन गरे, किनकि यसबाट फोन गर्दा कुनै रेकर्ड नबस्नेप्रति उनीहरू जानकार थिए । ‘गौचन हत्यामा उच्च प्रविधिको प्रयोग भएको भेटियो । यसमा प्रयोग भएका प्रविधि निकै युनिक थिए । त्यही भएर अभियुक्त पक्राउ गर्न समय लाग्यो,’ डिआइजी कार्कीले भने ।

यस्तो थियो गौचन र घैँटेबीचको सम्बन्ध
प्रहरीका अनुसार गौचन हत्या ठेक्कापट्टामा करिब ६१ करोड रुपैयाँको हिसाब नमिल्दा भएको हो । त्यसमध्ये, एक करोड रुपैयाँ सेयर विवाद हो । ६० करोड हुलाकी राजमार्गको ठेक्का कमिसन हो ।

प्रहरीका अनुसार गौचन र डनका रूपमा परिचित कुमार घैँटेबीच व्यावसायिक साझेदारी थियो । गौचन डाँफे कन्ट्रक्सनका सञ्चालक र घैँटे गजुरमुखी कन्स्ट्रक्सनका मालिक थिए ।

दुईबीच व्यावसायिक साझेदारीको सहमति भयो । सोही कारण गौचन दुई करोड ५० लाख रुपैयाँको डाँफे कन्स्ट्रक्सनको सेयर घैँटेलाई दिन राजी भए । त्यही क्रममा घैँटे प्रहरी इन्काउन्टरमा मारिए । सेयरबापतको रकम गौचन आफैँले राखेका थिए ।

घैँटेले गौचनलाई दिएको साढे दुई करोडमध्ये एक करोड बस्नेतसँग सापटी लिएका थिए । घैँटे मारिएलगत्तै बस्नेतलाई सापटीबापतको रकम डुब्ने आशंका उत्पन्न भयो ।

सो रकम फिर्ता लिन बस्नेतले घैँटेको परिवारलाई आग्रह गरे । तर, घैँटेको परिवारले दिन नसक्ने जनाएपछि सो रकम गौचनबाटै असुल्ने अभियानमा लागे । बस्नेतले गौचनलाई रकम फिर्ता दिन पटक–पटक फोन गरे, तर उनी सफल भइरहेका थिएनन् ।

यही क्रममा गौचनको डाँफे कस्ट्रक्सनले वीरगन्ज–विराटनगर जोड्ने करिब ३० अर्ब रुपैयाँ बराबरको ठेक्का पायो । बस्नेतले सो ठेक्कामा दुई प्रतिशत कमिसनबापतको हिस्सा खोजे । त्यसो हुँदा गौचनले बस्नेतलाई ३० अर्ब रुपैयाँको दुई प्रतिशतका दरले ६० करोड रुपैयाँ कमिसन दिनुपर्ने भयो ।

बस्नेतले गौचनसँग कमिसनबापतको ६० करोड र सेयरबापतको एक करोड गरी ६१ करोड रुपैयाँ माग्न थाले । यसका लागि उनले सबै हत्कन्डा अपनाए । तर, गौचनबाट रकम पाउन सकेनन् ।

यही विषय नै गौचन हत्याको प्रमुख कारण बन्न पुग्यो । २३ असोजमा गौचनको नयाँ बानेश्वरस्थित प्रयागमार्गमा गोली हानी हत्या भयो ।

Post Comment