नेपाल र भारतबीच सीमा विवाद चर्कियो,दशगजामा एसएसबीको अवरोध

नेपाल र भारतबीच सीमा विवाद चर्कियो,दशगजामा एसएसबीको अवरोध
समाज

कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एक जना नेपालीको मृत्यु भएको वर्ष दिन नपुग्दै कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि पुनः विवाद सिर्जना भएको छ ।

नेपाली पक्षले सडक फराकिलो बनाउदा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेपछि विवाद उत्पन्न भएको हो ।

बेलौरी नगरपालिका–१० सडकघाटमा नगरपालिकाले सडक चौडा बनाउन रकम विनियोजन गरेपछि सडकको चौडाई बढाउने काम भैरहेको थियो ।

नेपालतिरबाट बनाउँदै लगिएको सडक एसएसबीले भारतीय दशगजामा सडक परेको भन्दै अवरोध गरेको छ । नगरपालिकाको सडक फराकिलो बनाउने योजना अन्तर्गत केही दिनदेखि सडकघाटमा निर्माणको काम भइरहेको थियो ।

तर भारतीय सीमा सुरक्षा बलले नेपाली भूमिमा सडक बनाउन अवरोध गरेपछि विवाद उत्पन्न भएको स्थानीय कृष्णप्रसाद शर्माले बताउनु भयो ।

उहाँले आफुसंग रहेको लालपुर्जा देखाउँदै आफ्नो जग्गामा बाटो निर्माण गर्दा भारतीय सीमा सुरक्षा बलले रोक्दा पनि नेपाली प्रशासन भने केही नगरेर बसेको गुनासो गर्नुभयो ।

सदियौ देखि मानिदै आएको नेपाल भारतको सीमानाका भन्दा भित्रपट्टि नेपाली भूमिमा सडक निर्माण गर्दा भारतीय पक्षबाट अवरोध हुनु सरासर दादागिरी भएको स्थानीय नेता पल्लब भट्ट बताउनु हुन्छ ।

कंचनपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ बाट विजयी सांसद कुलबीर चौधरीले लामो समयदेखि चल्दै आएको सीमा विवाद अन्त्यका लागि अहिले सीमा सर्भे भैरहेकोले दीर्घकालीन रुपमा समस्याको समाधान हुने बताउनुभयो ।

उहाँले ठूलो माछाले सानो माछालाई खाने भन्दै भारतीय हेपाहा प्रबृत्तिको अन्त्यका लागि आफुले पहल गर्ने दृढता पनि व्यक्त गर्नुभयो ।

उता भारतीय सीमा सुरक्षा बलका कमाण्डेट (इन्स्पेक्टर) एसके सिंहले अहिलेको विवाद सामान्य रहेको बताएका छन् ।

उनले सीमा सर्भे टोलीले सीमाको जाँच गरिरहेकोले सदियौ देखि मानिदै आएको दशगजा भन्दा पर नेपालीले पक्की सडक बनाउँदा पनि आफुहरुलाई कुनै समस्या नरहेको बताए ।

Post Comment