खैरेनीटारवासीद्वारा नागरिक अभिनन्दन

समाज

दमौली, ३ वैशाख । आठौँ खैरेनीटार महोत्सवका अवसरमा खैरेनीटारवासीले प्रधानसेनापति राजेन्द्र क्षत्री र श्रम मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साललाई महोत्सवस्थलमा बिहीबार भव्य रुपमा नागरिक अभिनन्दन गरेका छन् ।

जिल्लावासीले महोत्सवस्थलमै पुगेर उनीहरुलाई भव्यरुपमा नागरिक अभिनन्दन गरेका हुन् । उनीहरुले प्रधानसेनापति क्षत्री र श्रम मन्त्रालयका सचिव लम्साललाई दोसल्ला, फूलमाला, अबिर लगाई कदरपत्रद्वारा सम्मान गरेका हुन् । सो अवसरमा प्रधानसेनापति क्षत्री र लम्साललाई नौमती बाजागाजा, कौरा नृत्य, नेवारी कुमारी नाच, भिमे बाजाका साथ महोत्सवस्थलमा लगिएको थियो । तनहँुको चोक चिसापानी गाविसको दूधेकुनामा जन्मेर नेपाली सेनाको सबैभन्दा उच्च पदमा पुग्न सफल भएको भन्दै जिल्लावासीले प्रधानसेनापति क्षत्रीलाई नागरिक अभिनन्दन गरेका हुन् ।

महोत्सवको पाँचौँ दिन तनहँु उद्योग वाणिज्य सङ्घ खैरेनीटार बजार इकाईका साथै विभिन्न सङ्घसंस्थाले क्षत्रीलाई अभिनन्दन गरेका हुन् । तनहँुमा जन्मेर नेपाली सेनाको उच्चपदमा पुग्न सफल भएकाले उहाँलाई प्रगतिपथमा अगाडि बढ्न थप हौसला प्रदान गर्ने उद्देश्यले क्षत्रीलाई सम्मान गरिएको महोत्सवका संयोजक अर्जुनकुमार श्रेष्ठले बताउनुभयो । दृढ इच्छाशक्ति राखेर इमान्दारीपूर्वक काम गर्ने हो भने जसले पनि चाहेको ठाउँमा आफूलाई स्थापित गर्नसक्ने क्षत्रीले बताउनुभयो ।

त्यसैगरी, शुक्लागण्डकी नगरपालिका घर भएका श्रम मन्त्रालयका सचिव लम्सालले पनि जन्मभूमिमा सम्मान पाउँदा निकै खुसी लागेको बताउनुभयो । वैशाख ३ गते स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र ५ गते पूर्वराजदूत डा भेषबहादुर थापालाई त्यसरी नै नागरिक अभिनन्दन गरिने महोत्सवका प्रवक्ता हरिबहादुर थापाले बताउनुभयो ।
हेलिकोप्टरमा आउनुभएका प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको ३ नं वाहिनीको समेत निरीक्षण गर्नुभएको थियो ।