धुर्मुस-सुन्तली फाउण्डेसनद्वारा निर्मित रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिएको छ । सन्तपुरबस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । चन्द्रपुर नगरपालिकाको वडा नं ८ सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर सहित ५० वटा संरचनाको निर्माण कार्य सम्पन्न भएको हो।
उद्घाटन कायक्रममा प्रदेश प्रमुख रन्तेश्वर लाल कायस्थ, मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतको उपस्थिति रहेको छ। सो नमुना बस्ती गत असोज ४ गते शिलान्यास गरिएको थियो। २८४ जना बासिन्दाका लागि ४७ वटा घरका साथै सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यु टावर गरी ५० संरचना निर्माण भएका छन्। गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो।