सोमबार बिहानैदेखि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । हिमपातले जनजीवन कस्टकर हुनुका साथै सवारी आवागमन ठप्प बनेको छ ।
चामे गाउँपालिकाको तिमाङ, दानाक्यु, चामे, माथिल्लो क्षेत्रको मनाङ, पिसाङ, हुम्डे, थोराङला, घ्यारु, ङावल, हुम्डे, तिलिचो, नारफू क्षेत्रलगायतमा हिमपात भएको स्थानीयले बताएका छन् ।
हिमपातले चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक बीचबाटोमै रोकिएका छन् ।
नार आधारभूत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले सडक र पदयात्रामार्गमा हिउँ जम्ने गरी हिमपात भएको बताए ।
‘सोमबार बिहानैदेखि हिउँ परेको हो’–गुरुङले भने–‘दिउँसोदेखि झन्–झन् बढ्दै गएको छ ।’
हिमपातका कारण चामेबाट तल्लो क्षेत्र र माथिल्लो क्षेत्रमा सवारी गुड्न सकेको छैन ।
तल्लो क्षेत्रमाभन्दा माथिल्लो क्षेत्रमा बढी हिमपात भएको स्थानीयले बताएका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङकाअनुसार हिमपातका कारण थोराङला र तिलिचो जाने पर्यटकलाई मौसमको अवस्था हेरेर पठाउने गरिएको छ ।
एक्यापले हिमपातका कारण पर्यटकहरु अफ्ठ्यारोमा परेको कुनै सूचना नआएको जनाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख बाबुलाल तिरुवाले पर्यटकलाई तिलिचोताल तथा थोराङ पास गर्न जान रोक लगाइएको बताए ।
‘सोमबारमात्रै २०/२२ जना पर्यटकलाई रोकिएको छ । हिउँ पर्न छोडेपछि अवस्था हेरेरमात्र पठाउँछौं’–तिरुवाले भने । पर्यटकहरु हिउँ खेलेर रमाइरहेको उनले बताए ।
मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले हिमपातकाबेला अन्नपूर्ण पदमार्गमा आउने पर्यटकहरुको सुरक्षामा विशेष चासो राखिएको बताए । उनकाअनुसार हिमपातले बाहिर निस्कनसक्ने अवस्था छैन ।
प्रजिअ पन्तकाअनुसार बटुवा तथा पर्यटकको आवत–जावत रोकिएको छ ।
स्थानीयकाअनुसार अत्याधिक चिसोले सानासाना खोलाहरू जमेका छन् । धारामा पानी झर्न सकेको छैन । हिउँमा चिप्लिएर लडिने भएकाले मानिसहरुले आवत–जावत गर्न सकेका छैनन् ।
मनाङसँगै लमजुङका उच्च क्षेत्रमा पनि हिउँ परेको छ । केही दिनअघिसम्म हिउँ पग्लेर काला देखिएका मनाङ र लमजुङका हिमालहरु हिउँले ढाकिएका छन् ।
हिउँ परेपछि हिमालमा पनि रौनक देखिएको छ । माथिल्लो क्षेत्रमा हिउँ र तल्लो क्षेत्रमा पानी परेकाले किसानहरु भने खुसी देखिएका छन् ।