सर्वसाधारणले डलर प्राप्तिका लागि कठिनाइ भोगिरहेका बेला राष्ट्र बैंकले पछिल्लो छ महिनामा १ अर्ब ९२ करोड अमेरिकी डलर खरिद गरी विभिन्न च्यानलमार्फत बजारमा पठाएको जनाएको छ ।
चालू आर्थिक वर्ष २०७४–७५ को पहिलो ६ महिनामा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ९२ करोड खुद खरिद गरेको थियो । तरलता प्रभाव पार्न भन्दै केन्द्रीय बैंकले उक्त डलर खरिद गरेको थियो ।
त्यसमध्ये नेपाल राष्ट्र बैंकले १ खर्ब ९८ अर्ब ४ करोड बाराबरको डलर विभिन्न च्यानलमार्फत सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले रु २३ अर्ब ५८ करोड बराबरको डलर स्थायी तरलता सुविधा उपयोगको लागि लगेको केन्द्रीय बैंकले जनाएको छ । त्यो डलर अहिले बजारमा छ ।
डलर चाहने सर्वसाधारणले कमर्सियल बैंक वा सटही सेवा प्रदायकबाट डलर लिँदै आएका छन् । ६ महिने समीक्षा अवधिमा खुला बजार कारोबारमार्फत् कुल रु ६९ अर्ब ३३ करोड तरलता प्रवाह भएको केन्द्रीय बैंकले औंल्याएको छ । बैंकहरूले डलर अभाव देखाउँदै सर्वसाधारणलाइ सटही सुविधामा कञ्जुस्याइँ गरिरहेका बेला राष्ट्र बैंकको यस्तो आँकडा सार्वजनिक गरेको हो।
यस क्रममा ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोल कबोलमार्फत् रु ४४ अर्ब ५ करोड र सोझै खरिद बोलकबोलमार्फत् रु २५ अर्ब २८ करोड तरलता प्रवाह गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु १५ अर्ब ४० करोड तरलता प्रवाह भएको थियो।
समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब २० करोड र यूरो ४ करोड बिक्री गरी रु २३१ अर्ब ६४ करोड बराबरको भा.रु. खरिद भएको समेत नेपाल राष्ट्र बैकले सोमबार जारी गरेको ६ महिने समीक्षामा उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ४ करोड खुद खरिद भई रु २१९ अर्ब ३५ करोड खुद तरलता प्रवाह भएकोे थियो । आर्थिक वर्ष २०७४–७५ को ६ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणमार्फत पटक–पटक गरी रु १२९ अर्ब २० करोड तरलता प्रशोचन गरिएको छ ।