एकता प्रयासलाई तीव्रता दिने,एकीकृत पार्टीको नाम र नेतृत्वमा सहमति

एकता प्रयासलाई तीव्रता दिने,एकीकृत पार्टीको नाम र नेतृत्वमा सहमति
राजनीति

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रयासलाई फेरि तीव्र बनाउने सहमति भएको छ।

सैद्धान्तिक विषयमा कुरा नमिलेपछि विफल भएको भनिएको एकता संयोजन समितिको बैठक आइतवार फेरि हुने भएको छ।

दुई दलका अध्यक्षबीचको छलफलले त्यो निचोड निकालेको हो।

एमाले अध्यक्ष केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, “भेटवार्तामा सरकार विस्तार र पार्टी एकतालाई तत्काल निचोडमा पुर्‍याउने विषयमा सकारात्मक छलफल भएको छ। आइतवार पार्टी एकता संयोजन समितिको बैठक गरेर दुबै विषयलाई टुंगोमा पुर्‍याउने कुरा भएको छ।

आफ्नो समर्थनमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको माओवादी केन्द्र सरकारमा सहभागी छैन।

पार्टी एकता, सरकारमा सहभागिता र महत्वपूर्ण पदको बाँडफाँटमा एकसाथ सहमति गर्नुपर्ने भनाई राख्दै आएका माओवादी अध्यक्ष प्रचण्डले ओलीसँगको छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

दुई अध्यक्ष संयोजन समितिमार्फत नै सहमति जुटाउन तयार भएकाले बैठक बोलाइएको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए।

उनले भने, “शनिवारको छलफल राम्रो भयो। तर छलफल गरेर टुङगोमा पुग्नु पर्ने विषयमा संयोजन समितिमै कुराकानी हुन्छ।”

एकीकृत पार्टीको नाम र नेतृत्वमा करिब सहमति भइसकेको नेताहरुले बताउने गरेका छन्।

सैद्धान्तिक विषयमा मिलनबिन्दु खोज्न संयोजन समितिले कार्यदलले बनाउन सक्ने दुबै पक्षको भनाइ छ।

Post Comment