पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०१७ मा पदयात्री पर्यटकको संख्या बढेर नयाँ कीर्तिमान कायम भएको छ ।
७ हजार ६०० वर्गकिलोमिटर भूभागमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनका लागि आकर्षणको केन्द्र रहँदै आएको छ । सन् २०१७ मा अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने पर्यटकको संख्यामा अघिल्लो वर्षको तुलनामा झण्डै ३९ प्रतिशतले वृद्धि भएको हो ।
यो हालसम्मकै बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रश्मी आचार्यले बताइन् । सन् २०१६ मा १ लाख १४ हजार १ सय ८७ जना पर्यटक भित्रिएका थिए भने सन् २०१७ मा १ लाख ५८ हजार ५ सय ८८ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको तथ्याङ्क छ । अन्नपूर्ण पदमार्ग आउने पर्यटको अभिलेख अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले राख्ने गरेको छ ।
सन् २०१७ मा ९ लाख ४० हजारभन्दा बढी पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ । अधिकारीहरूका अनुसार १० लाख पर्यटक भित्र्याउने सन् २०१६ को लक्ष्य भेट्टाउन नसके पनि यो संख्या अहिलेसम्मकै धेरै हो । उच्च पहाडी र हिमाली क्षेत्रमा पदयात्रा गर्ने उद्देश्यले नेपाल भित्रिने करिब ६० प्रतिशत पर्यटकको पहिलो रोजाइ प्रदेश नं. ४ मा पर्ने अन्नपूर्ण क्षेत्र पर्ने गरेको छ ।
पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङकाअनुसार पर्यटकिय सिजनमा होटलहरू भरिभराउ रहेका थिए । पर्यटक आगमन बढ्दा होटलमा कोठासमेत अभाव हुनेगरेको थियो ।
एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार २० वर्षको अवधिमा पर्यटक आगमनले ऐतिहासिक रेकर्ड कायम गरेको छ । एक्यापले सन् १९९६ देखि पर्यटकको तथ्यांक लिन थालेको हो । सशस्त्र द्वन्द्वका बेला, भूकम्प र नाकाबन्दीका बेला आगमनमा गिरावट आएपनि त्यसपछि पुनः बढ्दै गएको छ ।
एक्याप केन्द्रीय कार्यालय पोखराका प्रमुख लालप्रसाद गुरुङले अन्नपूर्ण पदमार्गको राम्रो प्रचारप्रसार, प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिले पर्यटक आगमन बढेको बताए । ‘भूकम्प गएपनि अन्नपूर्ण पदमार्ग बिग्रिएको छैन भन्ने प्रचारप्रसार भयो,’ उनले भने, ‘सबैबाट सकारात्मक सहयोग भयो । हिजोआज बन्द हडताल पनि हुन छाडेको छ । पर्यटक आगगमनपनि बढेको छ ।’
अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । पछिल्लो समय विदेशी पर्यटक जतिकै आन्तरिक पर्यटकको पनि उल्लेख्य वृद्धि हुन थालेपछि पर्यटन व्यवसायी थप उत्साहित भएका छन् । पछिल्लो समय विभिन्न क्लब, तथा सङ्घसंस्थामा आबद्ध भएकासमेत बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा जाने गरेका छन् ।
लमजुङ सदरमुकाम बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । सौखिनका लागि जीवनको प्रतिष्ठा समेत बन्ने गरेको पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।