युद्धग्रस्त सिरिया संकट: सिरियाली महिलाहरु राहत सामग्रीसँग यौन साट्न बाध्य

युद्धग्रस्त सिरिया संकट: सिरियाली महिलाहरु राहत सामग्रीसँग यौन साट्न बाध्य
अन्तर्राष्ट्रिय समाचार

गृहयुद्धमा फसेसँगै चौतर्फी विदेशी हमालाको सिकार भईरहेको सिरियामा महिलाहरु भने यौन हिंसामा परेको खुलेको छ । राहतकर्मीहरुबाटै त्यहाँका महिलाहरु यौन हिंसाको सिकार परेको खुलेको हो । यतिसम्म कि रातह वितरण गर्न त्यहाँ पुगेका पुरुष राहतकर्मीहरुले सेक्स गर्न नदिँदासम्म राहत वितरण नगर्ने गरेको समेत खुलेको छ । बिबिसी हिन्दीका अनुसार संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संगठनका तर्फबाट सहयोग गरिरहेका पुरुष राहतकर्मीले त्यहाँका महिलामाथि यौन शोषण गरिरहेका छन् ।

संघ संस्थालाई यस्तो कुरा थाहा हुँदाहुँदै पनि जिउ ज्यानको खतरा हुँदाहुँदै त्यस्तो ठाउँमा गएर राहत बाड्ने काम गरेकाले थाहा पाएर पनि नपाए जस्तो गरेको समेत बताइएको छ । तीन वर्षपहिले यही विषयको बाहिर आएको थियो । त्यसै समय कडा चेतावनी दिएपनि यस्तो कार्य रोकिएको छैन । स्थानीय राहतकर्मीले महिलाहरुमाथि यौन शोषणको रुप भयावह बन्दै गइरहेको र जसका कारण सिरियाका महिला राहत वितरण केन्द्र जान अस्वीकार गरिरहेको बताएका छन् । महिला र युवतीहरुसँग राहतकर्मीले फोन नम्बर माग्ने र पछि आफ्नो बासस्थानतिर लिएर जाने गरेको समेत समाचारमा जनाइएको छ ।

एक जना राहत कर्मचारीले दाबी गरेका छन् ‘केही मानवीय निकायहरूले यौन शोषणको मुद्दालाई आँखा चिम्लेर आफ्नो कामलाई अगाडि बढाएका छन् । किनभने त्यहाँ अन्तर्राष्ट्रिय संस्थाका कर्मचारीहरू, स्थानीय अधिकृतहरू र साझेदारी संस्थाहरू मार्फत मात्र सिरियाको जोखिमपूर्ण ठाउँहरूमा राहत सेवा पुर्याउन सक्थे ।’ युएनएफपीएले गत वर्ष लंैगिकताको आधारमा हुने हिंसाको अध्ययन गरेको थियो । उक्त (भ्वाइसेस् फ्रम सिरिया २०१८) प्रतिवेदनले सिरियाको विभिन्न प्रान्तहरूमा मानवीय राहतको बदलामा यौन बेचिने गरेको तथ्य उल्लेख गरेको थियो ।

यौन शोषणको बारेमा पहिलो पल्ट तीन वर्ष अगाडि जानकारी गराइएको थियो । एउटा परोपकारी संस्थाको मानवीय सल्लाहकार ड्यानिल स्पेनसरले सन् २०१५ को मार्चमा जोरडनको शरणार्थी शिविरमा यौन शोषणका आरोपहरू एउटा सिरियाली महिला समूहबाट सुनेकी थिइन् । उनले यस शिविरका केही महिलालाई लक्षित गरी उनीहरूसँग एउटा छलफल सञ्चालन गरेकी थिइन् । उनीहरूले बताएअनुसार सिरियाका केही स्थानीय तहका पुरुषले उनीहरूलाई यौन शोषण गरेर राहत दिएका थिए ।

‘उनीहरूले पठाइएको राहत सामग्री रोके र महिलाको यौन शोषण गरे’ स्पेनसरले भनिन् । केही महिनापछि सन् २०१५ को जुन महिनामा इन्टरनेशनल रेस्क्यू कमिटिले १ सय ९० महिला र बालिकाको सिरियाको दुई प्रान्तहरूमा सर्वेक्षण गर्यो । उक्त संस्थाको प्रतिवेदन अनुसार ४० प्रतिशतलाई राहत सामग्री र सेवा लिने बेला यौन हिंसा भएको थियो । ती प्रतिवेदनहरू संयुक्त राष्ट्र संघका निकायहरू र अन्तर्राष्ट्रिय परोपकारी संस्थाका प्रतिनिधिहरू बीच जोडर्नको राजधानी अमानमा जुलाई १५ सन् २०१५ मा युनएफपीएले आयोजना गरेको बैठकमा प्रस्तुत गरिएको थियो । यो बैठकपछि केही मानवीय संस्थाहरूले आफ्ना नीति र प्रक्रियाहरूलाई कडा बनाएका थिए ।

Post Comment