टेक्सास: विवाह गर्न नमान्दा तातो तेल खन्याउने बाबुआमा पक्राउ

टेक्सास: विवाह गर्न नमान्दा तातो तेल खन्याउने बाबुआमा पक्राउ
समाज

अमेरिकाको टेक्सासमा आफूले भनेको केटासँग विवाह गर्न नमानेको भन्दै आफ्नी १६ वर्षीया छोरीमाथि तातो तेल खन्याउने बाबुआमा पक्राउ परेका छन् । टेक्सस हाइ स्कुल पढ्ने मारिब अल हिस्मावीमाथि उनका बाबुआमाले लगातार शारीरिक हिंसा गर्ने गरेको टेक्सस पुलिसले जानकारी दिएकोे छ ।

३४ वर्षीय बाबु अब्दुल्ला र ३३ वर्षीया आमा हमदियाले विहे गर्न नमान्दा बेहोश हुनेगरि पिटेर शरीरमा तातो तेल खन्याएपछि विवाहको मिति अगाडि नै जनवरीमा मारिब घर छाडेर भागेकी थिइन् । यसपछि उनीहरु मारिबको खोजी गर्न पुलिसकहाँ पुगेका थिए । तर हराएकी मारिबलाई भने बाल सुरक्षा सेवाले हेरचाह गरिरहेको थियो ।

यसपछि खोजीकै क्रममा उनलाई यसै महिना पुलिसले बाल संस्थाबाट फेला पारेको थियो । यसरी उनलाई पत्ता लगाएपछि मात्र अपराधी बाबुआमाबारे खुलासा भएको डेलीमेलले जनाएको छ ।

वास्तवमा बाबुआमाले उनलाई २० हजार डलरको बदलामा आफूभन्दा धेरै उमेरका मानिससँग जबरजस्ती विहे गराइदिन लागेको थाहा पाएपछि उनी घरबाट भागेको बताइएको छ । जम्मा १५ वर्षको हुँदा नै मारिबका आमाबुवाले उनीसँग विवाहको कुरा गरेका थिए । तर उनले भने पटकपटक यसका लागि अस्वीकार गर्दै आएकी थिइन् ।

स्थानीय संचारका अनुसार उनको परिवार दुई वर्ष अघि मात्र इराकबाट अमेरिका बसाइँ सरेको थियो । परिवारमा उनी बाहेक ५ देखि १५ वर्षका पाँच भाइबहिनी पनि रहेको बताइएको छ । अहिले तिनीहरु सबैलाई बालकेन्द्रमै राखिएकोे छ । उनीहरु पनि हिंशाको शिकार भएको हुन सक्ने बताइएको छ । अहिले पुलिसले उनका बाबुआमा सहित उनीसँग विवाह गर्न खोज्ने व्यक्तिलाई पनि गिरफ्तार गरिसकेको बताएको छ ।

Post Comment