श्रीमान घरमा नभएको मौका पारेर महिलालाई बलात्कार गर्न खोज्ने एक व्यक्तिलाई कालोमोसो सहित जुत्ताको माला लगाइ सामाजिक कार्वाही गरिएको छ ।
कैलालीको कैलारी गाउँपालिका–१ दक्षिण मन्झराका टुकी भनिने कृष्ण प्रसाद चौधरीलाई गाउँलेले कालोमोसोसहित जुत्ताको माला लगाएर कार्वाही गरेका हुन् ।
श्रीमान घरबाहिर भएकी महिलाको संरक्षण गर्नुपर्ने सामाजिक दायित्वलाई बिर्सेर महिला एक्लै हुँदाको गलत फाइदा उठाउन खोजेको भन्दै गाउँलेले कुटपिट गर्दै कालोमोसोसहित जुत्ताको माला लगाएर कार्वाही गरेको बताइएको छ ।
पीडित महिलाका अनुसार यही चैत्र २३ गते राति १२ बजेको समयमा कृष्ण प्रसाद चौधरी उनको घर गएका थिए । आफ्नो घरमा आएका कृष्ण प्रसाद आफूलाई जवर्जस्ती गर्न थाले पछि कुटपिट गर्दै महिला चिच्याउन थाले पछि टोल छिमेकी जम्मा भएको पीडित महिलाको भनाइ छ ।
महिलाको हार गुहार सुनेर जम्मा भएका छिमेकीले घटनास्थलमै कृष्ण प्रसादलाई कुटपिट गरेको र अर्को दिन गाउँलेको बिचमा राखेर कालोमोसो दल्दै जुत्ताको माला लगाएर कार्वाही गरिएको बताइएको छ ।
यस्तै टुकीलाई स्थानीय महिलाले २ लाख रुपैयाँ जरिवाना समेत गराएको थाहा भएको छ ।
गाउँ घरमा आगामी दिनमा यस्ता खालका घटना दोहोरिए महिलाहरूले यस्तै खालको सामाजिक कार्वाही गर्ने चेतावनी समेत दिएका छन् ।
उता जिल्ला प्रहरी कार्याल्य कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विर बहादुर बुढामगरका अनुसार बलात्कारको प्रयास गर्ने व्यक्तिलाई कालोमोसो दलेको घटना सामाजिक सञ्जाल मार्फत थाहा पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले सोमबार टुकी भनिने कृष्ण प्रसाद चौधरीसहित ७ जनालाई पक्राउ गरेको छ ।
कृष्ण प्रसाद चौधरीले बलात्कारको प्रयास गरेको भए उनलाई कानुनी दायरामा ल्याउनुको सट्टा कानुन हातमा लिएर कार्वाही गर्न खोजेको भन्दै प्रहरीले स्थानीय विसराम चौधरी, बुद्धिराम चौधरी, दुखिराम चौधरी, मसराम चौधरी, खोजराम चौधरी र छुदराम चौधरीलाई प्रक्राउ गरेको प्रहरी प्रवक्ता बुढामगरले जानकारी दिए ।
पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्र्तगत मंगलबार मुद्दा चलाउने तयारी गरेको छ । पीडित भनिएकी महिलालाई बयानका लागि प्रहरी कार्यालयमा बोलाइएको र उनको बयानका आधारमा बलात्कारको प्रयास गर्ने कृष्ण प्रसादलाई मुद्दा दर्ता गरिने पनि प्रवक्ता बुढामगरले बताए ।