कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई कम नआँक्न चेतावनी दिएका छन् ।
शनिबार नेपाली कांग्रेस काठमाडौं जिल्ला भेलाको काठमाडौंमा उद्घाटन गर्दै उनले संसदमा दोस्रो भएपनि जिम्मेवारीको दृष्टिकोणले कांग्रेस पहिलो पार्टी भएको भन्दै कम नआँक्न चेतावनी दिए ।
उनले नेपाली कांग्रेसको सिद्धान्त र विचारमा कम्युनिष्टहरु आएको र परिवर्तन सबै कांग्रेसको पालामा भएको भन्दै मनोबल उच्च राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।
सरकारमा गएपछि कम्युनिष्टहरुको चरित्र उदांगिएको भन्दै उनले कम्युनिष्ट अधिनायकवाद कुनै हालतमा स्वीकार्य नहुने बताए ।
सरकार निरंकुश बाटोमा अगाडि बढेको जिकिर गर्दै सभापति देउवाले निरंकुशताविरुद्ध लड्नका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिए ।
संविधान च्यात्ने, बहिस्कार गर्ने र मधेस आन्दोलनका सबै शक्तिलाई कांग्रेसले चुनावमा ल्याएको स्मरण गर्दै उनले मुलुकलाई निकास दिने कार्यमा कांग्रेसको भूमिका महत्वपूर्ण भएको बताए ।
उनले कांग्रेस एक भएको र सबैलाई एक बनाएर लैजाने प्रण गर्दै चुनौती सामना गर्दै अगाडि बढ्ने बताए ।
कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले इतिहास, विचार र कार्यकर्तालाई साथ लिएर कांग्रेस अगाडि बढ्ने बताए ।
माओवादीलाई पहिलो पार्टी बनाएर तेस्रोमा झार्ने र नेकपा एमालेलाई पहिलो बनाएर तेस्रोमा पुर्याउने पनि कांग्रेस नै हुने उनको भनाइ थियो ।
यस्तै, पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीभित्र सैद्धान्तिक बहस आवश्यक रहेको भन्दै पार्टी दोस्रो स्थानमा पुग्नुमा नेतृत्व दोषी रहेको जिकिर गरे ।
उनले विगतका गल्ती सच्याउँदै पाँच वर्ष जनताकाबीचमा जानुपर्ने बताए ।
अर्का नेता प्रकाशशरण महत र गगन थापाले परिणामुखी र वैधानिक तरिकाले पार्टी सन्चालन भए पाँच वर्षभित्र कम्युनिष्ट पत्तासाफ हुने दावी गरे ।
उनीहरुले कांग्रेस कसैका कारण नभइ आफ्नै कारणले पराजित भएको भन्दै सुदृढीकरणमा लाग्नुपर्नेमा जोड दिए ।
थापाले वर्तमान सरकार बरालिन थालेको भन्दै लगाम लगाएर कांग्रेसले ठेगानमा ल्याउने बताए ।
काठमाडौं जिल्ला भेलाले नेपाली कांग्रेसको भावी कार्यदिशा र पार्टीले तय गर्ने बाटोकाबारेमा सुझाव दिने जनाइएको छ ।