नेपाल कम्युनिस्ट पार्टी मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय स्वाभिमानविरुद्ध हुने बताएको छ ।आज बिज्ञप्ति निकाल्दै मसालका महामन्त्री मोहनविक्रम सिंहले भनेका छन्, ‘हाम्रो पार्टीको यो स्पष्ट र दृढ मत छ कि उनलाई नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्धको कुरा हुनेछ ।
मसालको विज्ञप्तिमा लेखिएको छ, ‘मोदी कुनै पनि अवस्थामा नेपालका मित्र होइनन्, त्यसैले हामीले उनको सरकारी वा गैरसरकारीस्तरमा स्वागत गर्ने कुनै पनि कार्यको कडा शब्दमा विरोध गर्दछौं ।’मोदीको नेपाल भ्रमणको उद्देश्य विस्तारवादी नीति अन्तर्गत नै हुन लागेको मसालको ठहर छ ।
नेपालविरुद्ध नाकाबन्दी लगाएको, नेपालको संविधानविरुद्ध अन्तर्राष्ट्रिय अभियान चलाएको, तराईलाई नेपालबाट अलग गराउन पृथकतावादी समूहलाई उक्साउने काम गरेको र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न अहिलेसम्म पारवहन सन्धिलाई पनि अनुमोदन नगरेको नेपालको संविधान जारी हुन नदिन मोदी सरकारले दवाव दिएको आरोप मसालले लगाएको छ ।मोदी वैशाख अन्तिम साता नेपाल आउने तयारीमा छन् तर सरकारले भ्रमणको कार्यसूची सार्वजनिक गरेको छैन ।