दाङमा मानसिक पुनर्स्थापना केन्द्र स्थापना गर्न अमेरिकामा कार्यरत नेपाली चिकित्सकहरूले झण्डै ३० लाख रुपियाँ सहयोग गरेका छन् ।
यही मे महिनाको पहिलो साता संयुक्त राज्य अमेरिकाको फिनिक्स, एरिजोनामा सम्पन्न अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २२ औं वार्षिक सम्मेलनका अवसरमा सो सहयोग जुटाइएको थियो ।
सोही अवसरमा अन्य कल्याणकारी परियोजनाहरूका लागि पनि सहयोग संकलन गरिएको थियो । अमेरिकाका विभिन्न राज्यहरुमा कार्यरत झण्डै १२० जना नेपाली चिकित्सकहरू तीन दिने सम्मेलनमा सहभागी भएका थिए । डा.विदुर ढकालले उक्त सम्मेलनको संयोजन गरेका थिए ।
हेल्थ फाउण्डेशन नेपालका अध्यक्ष डा.श्रीधर पौडेलले सबै सहयोगदाताहरूलाई हार्दिक धन्यवाद दिएका छन् ।
सहयोगबाट दाङको सौडियार १ मा गंभीर मानसिक बिरामीहरूका लागि स्थापना गर्न लागिएको मानसिक पुनर्स्थापना केन्द्र निर्माण गर्न सहयोग पुग्ने उनले बताए ।
‘दश वर्ष लामो सशस्त्र द्वन्द्वबाट अत्यन्तै प्रभावित राप्ती अन्चलमा मानसिक स्वास्थ्य संबन्धी समस्याहरू निकै छन् । तिनलाई संबोधन गरेर बिरामीहरूको उपचार तथा पुनर्स्थापनामा सघाउने उद्देश्यले हामीले दाङमा मानसिक पुनर्स्थापना केन्द्र स्थापना गर्न लागेका हौं’, अध्यक्ष डा. पौडेलले भने ।
उनले नेपाल सरकारको स्वास्थ्य प्रणालीको सहयोगीको रुपमा फाउण्डेशनले काम गर्ने जानकारी पनि दिए ।