५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको संघर्ष सुशासन, समृद्धि र विकास लागि हुनुपर्ने बताएका छन्। आइतबार बिहान पश्चिमाञ्चल विकास मञ्चका प्रतिनिधि मण्डलसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्रीले भने, ‘ठूल–ठूला बलिदानी र संघर्षबाट राजनीतिक परिवर्तन भयो, नयाँ संविधान बन्यो ।
अबको हाम्रो संघर्ष सुशासन, स्थिरता, विकास र समृद्धिका लागि हो। सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दिगो हुन सक्दैन।’
भेटमा प्रधानमन्त्रीले ‘मधेश–पहाड र हिमाललाई जोडेर आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने, छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी दुवै देशबाट नेपालको हितका पक्षमा काम गर्ने तथा विकास समृद्धि र पूनर्निर्माणको दिशामा देशलाई डोर्याउनु आफ्नो प्राथमिकता भएको’ बताए।
चन्द्र ढकालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले चुनौतिपूर्ण क्षणमा बनेको सरकारलाई सफल बनाउन आफूहरुको तर्फबाट पूर्ण सहयोग रहने जानकारी गराएको थियो।