फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् ।
उनले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदिमा बगाउँदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर घोषित हुन सफल भएको हो । उपाधीसंगै विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरी दिपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन् । त्यस्तै अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा #experienceNepal कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले बाजी मारे ।
त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते भने नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो । हरेक विधामा पहिलो हुने फाटोले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
वर्ल्ड प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा बरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, बरिष्ठ फोटोपत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, वरिष्ठ फोटोग्राफर मणी लामा, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकास माथेमा रहेका थिए ।
उत्कष्ट फोटोहरु काठमाडौंमा यही साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ भने काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ ।