सगुनद्धारा १० लाख डलर स्वामित्वको फाउण्डेसन स्थापना

सगुनद्धारा १० लाख डलर स्वामित्वको फाउण्डेसन स्थापना
सुचना-प्रबिधी

सोसल कमर्श प्लेटफर्म सगुनले आफ्नो तर्फबाट गरिने सामाजिक कामको लागि सगुन फाउण्डेशन स्थापना गरेको घोषणा गरेको छ । सगुनका संस्थापक गोविन्द गिरीले सोमबार बेलुकी अमेरिकामा एक कार्यक्रमकाबीच सगुन फाउण्डेशन स्थापना गरेको घोषणा गर्नुभएको हो ।

सगुन फाउण्डशेन स्थापना बारेमा जानकारी दिदै गिरीले सामाजिक अभियान र कामहरुमा जोडिने कार्यका लागि अब सगुन फाउण्डेशन क्रियाशिल हुने बताउनुभयो। स्थापनासँगै सगुन फाउण्डेशनलाई सगुन कर्पोरेशनले १० लाख अमेरिकी डलर बराबरको स्वामित्व शेयर समेत छुट्टयाएको छ। सगुन आइपिओमा गएपछि शेयर मार्केटमा विक्री गरि त्यसको प्रतिफल सगुन फाउण्डेशनले सामाजिक काममा लगाउन सक्ने गिरीले बताउनुभयो। आगामी दिनमा सगुनको विकाससँगै सगुन फाउण्डेशनलाई सहयोग गर्ने धनराशी पनि बढाउँदै जाने गिरीले प्रतिवद्धता व्यक्त गर्नुभयो।

अमेरिकी सरकारको कानुन अन्तर्गत रही सगुन फाउण्डेशन सामाजिक काममा क्रियाशिल हुने छ । संसारभर छरिएर रहेका नेपाली समुदाय तथा सगुनसँग नजिक रहेका समुदायलाई लक्षित गरि फाउण्डेशनले काम शुरु गर्नेछ । स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना, समुदायको विकास, उद्यमिशलता विकास, प्राकृतिक विपत्तीका बेलामा सहयोग लगायतका क्षेत्रमा फाउण्डेशनले काम गर्ने सगुनले जनाएको छ।

नेपालीहरुले शुरु गरेको सगुनको सोच र उदेश्यलाई समुदायले स्विकारेकोमा धन्यवाद दिदै गिरीले समुदायलाई पनि सगुनले गुन लगाउँदै जाने विश्वास दिलाउनुभयो । समुदायसँग जोडिने सगुनको प्रयास समुदायको सहयोगमै सफल हुने भएकोले नेपाली समुदायसँग हातेमाले गरेर जान आफूहरुलाई खुसी मिल्ने गिरीले बताउनुभयो।

सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले सगुन फाउण्डेशनको स्थापनाले आगामी दिनमा संसारभरका नेपाली समुदाय लाभान्वित हुने बताउनुभयो। सगुनको विस्तार हुँदै जाँदा कम्पनीको तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जाने कामलाई फाउण्डेशनले सहयोग गर्ने सिटौलाले बताउनुभयो। स्टार्ट अप कम्पनीको शुरुवाती चरणमै फाउण्डेशन खोली स्वामित्व शेयर हस्तान्तरण गर्ने विरलै कम्पनीहरुमा सगुन रहेको सिटौलाले बताउनुभयो।

विश्व बैंकमा काम गर्ने नेपाली अर्थशास्त्री प्रेम संग्रौलाले सगुनको विकास र विस्तार हुँदै जाँदा समुदायलाई समेत लाभान्वित गर्नेगरि फाउण्डेशन शुरु भएकोमा खुसी व्यक्त गर्दै बधाई र शुभकामना दिनुभयो।

सगुनले अहिले मिनिआइपिओ मार्फत अन्तिम चरणको लगानी जुटाइरहेको छ। मिनि आइपिओको यो तेस्रो तथा अन्तिम चरणमा जुलाई २६ तारिखसम्म लगानी गर्न योग्य लगानीकर्ताले बिश्वभरीबाट लगानी गर्न सक्नेछन् ।

हालसम्म बिश्वभरीबाट ३५ सय भन्दा बढी लगानीकर्ताहरुबाट ५ मिलियन भन्दा बढी लगानी जुटाइसकेको छ । सगुनको आधिकारिक पेज www.sagoon.com/invest मा गएर लगानी सम्बन्धी सबै जानकारी लिन सकिने छ । बिश्वका अधिकाशं देशहरुबाट लगानी गर्न सकिए पनि नेपाल भित्रबाट भने लागनी गर्न सकिदैन तर बिदेशमा बस्ने बैक खाता भएका नेपालीहरुले भने लगानी गर्न सक्ने जनाइको छ । यो अन्तिम चरण भएको कारण यस भन्दा पछाडि मिनीआइपिओमा यसरी नै लगानीको अवसर नआउने समेत सगुनले जनाएको छ ।

त्यसैगरी हालै सगुनमा भारतको प्रतिष्ठित समाचारपत्र हिन्दुस्तान टाइम्स ग्रुपले ५० लाख अमेरिकी डलर लगानी गरेको छ । भारतमा समेत कार्यालय राखेर सगुनले काम गर्दै आएको छ। अमेरिका र नेपालमा पनि सगनुको कार्यालय रहेको छ। सोसल कमर्श प्लेटफर्म सगुनसँग अहिले २५ लाखको हाराहारीमा प्रयोगकर्ता रहेका छन्। एन्ड्रोइड एप्स सार्वजनिक भएयता सगुनको प्रयोगकर्ता बढ्ने क्रम बढ्दो रहेका छन् ।

Post Comment