नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईको खण्डन गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले कांग्रेसलाई ‘लासको राजनीति’सँग जोड्नुअघि आफ्नो पृष्ठभूमि सम्झनासमेत आग्रह गरेका छन् ।
शर्माले भनेका छन्, ‘लासको राजनीति आरोप लगाउनु अघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभुमि हेक्का राख्नुपर्थ्यो कि कमरेड प्रचण्ड ?’
प्रचण्डले आज कम्युनिस्ट नेता पुष्पलालको ४० औं स्मृति दिवसलाई सम्बोधन गर्दै कांग्रेसले डा गोविन्द केसीको विषय उठाएर लासको राजनीति गरेको आरोप लगाएका थिए । उनले केसीको पुच्छर समाएको कांग्रेस सकिने दाबी समेत गरेका थिए ।
यसैको उत्तरमा प्रवक्ता शर्माले आफ्नै पार्टी सरकारमा रहेको बेला आएको अध्यादेश सम्झनसमेत प्रचण्डलाई आग्रह गरे । ‘डा केसीले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड ? कांग्रेस माथिको प्रश्नमा केवल यति भनौं माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश ?’