युरोपेली संघ (ईयू) सँगका व्यापार अवरोधहरू घटाउन अमेरिका सहमत भएको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।
युरोपेली संघका अध्यक्ष जाँ क्लड युङ्करसँगको एउटा भेटवार्तापछि ट्रम्पले ‘अमेरिका र युरोपेली मुलुकहरूबीचको व्यापार सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको’ बताए।
दुवै नेताले औद्योगिक उत्पादनमा शून्य कर लगाउने दिशामा काम गर्ने, ऊर्जा क्षेत्रमा सहकार्य सशक्त बनाउने, ईयूले अमेरिकाबाट थप तरल ग्यास खरिद गर्ने विषयम सहमति गरेको बताएका छन्।
सेवामूलक क्षेत्रमा र ईयूले अमेरिकाबाट थप भटमास किन्नेसहितका कृषि क्षेत्रमा व्यापार बढाउने विषयमा पनि उनीहरू सहमत भएका छन्।
अमेरिका र युरोपेली संघबीच बढ्दो तनावका माझ पछिल्ला सहमतिहरू भएका हुन्।
ट्रम्पले युरोपबाट गरिने स्टील तथा एलुमिनियम आयातमा कर लगाएपछि र कारमा कर बढाउने धम्की दिएपछि व्यापार युद्धको सम्भावनालाई दुई नेताले मत्थर पारेका हुन्
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति ट्रम्पको स्पष्ट झुकाव, उत्तर एट्लान्टिक सन्धि संगठन-नेटो र ईयूमाथि आक्रमणलाई लिएर अमेरिका र युरोपको सम्बन्ध झन् चिसिँदै गएको थियो।